धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामीले बैतडीमा ‘दाइनो’ (दमाहाजस्तै ठूलो आकारको बाजा) नचाएका छन्। आज (शनिबार) बैतडीस्थित सिगास गाउँपालिकाको–३ मा उनले दाइनो नचाएका हुन्।
अहिले उक्त छलिया नाचसहितको दृश्य सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ। त्यसमा विभिन्न खाले प्रतिक्रिया आइरहेका छन्। धेरैले त्यसलाई सकारात्मक रुपमा लिएर कलाको सम्मान गर्नुपर्ने बताइरहेका छन् भने केहीले मन्त्रीले आफ्नो पदीय मर्यादालाई ध्यानमा नराखेको पनि टीप्पणी गरेका छन्।
मन्त्री धामी खानेपानी आयोजना उद्घाटन गर्न सिगास पुगेका थिए। सिगास ३ को लगन भन्ने ठाउँमा प्रदेश सरकारको ८ करोड लागतमा सम्पन्न बृहत लिफ्ट खानेपानी योजनाको मन्त्री धामीले उद्घाटन पनि गरेका थिए। उद्घाटनमा बोल्दै मन्त्री धामीले त्यहाँ प्रदेश सरकार अबदेखि दुर्गम गाउँगाउँमा भेटिने बताएका थिए।
यस्तै उद्धघाटन कार्यक्रममा सुदूरपश्चिम सरकारका निवर्तमान भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहराको पनि सहभागिता रहेको थियो।