राम धामी, डडेल्धुरा: सुदूरपश्चिम प्रदेश सरकार मातहतको यातायात व्यवस्था कार्यालय डडेल्धुराले गत आर्थिक बर्षमा चार करोड ६४ लाख राजस्व सङ्कलन गरेको छ ।
डडेल्धुराबाट गत आर्थिक वर्षमा प्रदेश सरकार मातहतका कार्यालयहरुबाट छ करोड बढी राजस्व सङ्कलन भएकोमा ७० प्रतिशतभन्दा बढी राजस्व यातायात व्यवस्था कार्यालय डडेल्धुराबाट सङ्कलन भएको सुदूरपश्चिम प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय डडेल्धुराका प्रमुख त्रिमलबहादुर साँउदले जानकारी दिए ।
उनले यातायात व्यवस्था कार्यालय डडेल्धुरासँगै डडेल्धुरास्थित घरेलु तथा साना उद्योग कार्यालय र डिभिजन वन कार्यालय डडेल्धुरामार्फत राजस्व सङ्कलन भएको बताए । सुदूरपश्चिम प्रदेश सरकार मातहतका जिल्लास्थित अन्य सरकारी कार्यालयहरुबाट समान्य राजस्व उठ्ने गरेको सुदूरपश्चिम प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय धनगढीले जनाएको छ ।
यातायात व्यवस्था कार्यालय डडेल्धुरा हाल सदरमुकामस्थित किर्तिपुर बजारमा रहेको छ । पायक पर्ने ठाँउमा कार्यालय नहुँदा राजस्व असुलीमा प्रभाव परेको कार्यालयले जनाएको छ । हाल भाडामा रहेको कार्यालयको आफ्नै भवन निर्माणका लागि स्याउले बजारमा जग्गा खरिद गरिएको र त्यहाँ कार्यालय स्थापना गर्न सकिए राजस्व असुली बढ्ने यातायात व्यवस्था कार्यालय डडेल्धुराका प्रमुख हर्षबहादुर रोक्काले बताए ।
स्याउले बजारमा कार्यालय स्थापना गर्न सकिए प्रदेशका सातवटै पहाडी जिल्लाको पायक पर्ने भएकाले यातायात सम्बन्धी सम्पूर्ण सेवा प्रवाह विस्तार हुने र हालको तुलनामा वर्षेनी ३० प्रतिशतभन्दा बढी राजस्व सङ्कलन हुनसक्ने कार्यालयले जनाएको छ । स्याउले बजारमा कार्यालयसँगै ट्रायल सेन्टरका लागि जग्गा खरिद भइसकेकाले कार्यालय भवन निर्माणका लागि बजेट माग गरिएको कार्यालय प्रमुख रोक्काले जानकारी दिए ।
उनले ट्रायल सेन्टरको डीपीआर निर्माण र वातावरणीय प्रभाव मूल्याङ्कनका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट आठ लाख रुपैयाँ बजेट विवनियोजन भएको बताए । प्रदेश सरकारले वर्षेनी असुल गर्दै आएको राजस्वमा यातायात व्यवस्था कार्यालयको हिस्सा ठुलो रहेको सुदूरपश्चिम प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय धनगढीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डोटी र डडेल्धुरामा यातायात व्यवस्था कार्यालयले सेवा प्रवाह गरिरहेका छन् । कैलाली र कञ्चनपुरमा रहेका यातायात व्यवस्था कार्यालयबाट समेत प्रदेश सरकारले राजस्व सङ्कलन गर्ने गरेको छ । डोटीस्थित यातायात व्यवस्था कार्यालयको कार्यक्षेत्र रहेका जिल्लाका सवारी धनीहरुले पनि डडेल्धुराबाटै सेवा लिने गरेको कार्यालय प्रमुख रोक्काले बताए ।
स्याउले बजारमा कार्यालय स्थापना भए सेवाग्राही थपिने र वार्षिक लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सकिने यातायात व्यवस्था कार्यालय डडेल्धुराका सूचना अधिकारी विष्णुदत्त भट्टले बताए । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको केन्द्रविन्दु स्याउले बजारमा चाँडै कार्यालय स्थापना गर्न पहल भइरहेको उनले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेश सरकारले घरजग्गा रजिष्ट्रेशन शुल्क, विज्ञापन कर, प्राकृतिक स्रोत कर, कृषिमा आयकर, सेवा शुल्क दस्तुर र अन्य प्रशासनिक शुल्कमार्फत राजश्व असुली गर्ने गरेको छ । गत आर्थिक बर्षमा प्रदेश सरकारले निर्धारण गरेको लक्ष्यभन्दा निकै न्यून राजस्व सङ्कलन भएको राजश्व क्षेत्रका अधिकारीहरु बताउँछन् ।
गत आर्थिक वर्षमा प्रदेश सरकारले आन्तरिक राजस्वको लक्ष्य दुई अर्ब राखेको थियो । तर विभिन्न कारणले झण्डै एक अर्ब ४० करोड रुपैयाँ मात्र राजस्व सङ्कलन भएको सुदूरपश्चिम प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालय धनगढीले जनाएको छ । गत आर्थिक वर्षभन्दा विगतका वर्षहरुमा एक अर्ब १० करोड मात्रै राजस्व उठेको अभिलेख छ ।
वार्षिक रुपमा साढे १२ अर्ब राजस्व उठने वातावरण नभएसम्म प्रदेश सरकार आत्मनिर्भर हुने अवस्था नरहेको सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । प्रदेशमा राजस्व सङ्कलन बढाउन खानी, पूर्वाधार, पर्यटन, जलविद्युत र कृषिमा नीतिगत सुधार गर्न अपरिहार्य भएको अर्थतन्त्रका जानकारहरु बताउँछन् ।
प्रदेश सरकारले यातायात व्यवस्था कार्यालयहरुमार्फत सबैभन्दा बढी राजस्व सङ्कलन गरिरहेको प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । सवारी साधनहरुका लागि विभिन्न करमा छुट दिने नीति लिइएकाले अगामी वर्ष राजस्व सङ्कलन बढ्ने अपेक्षा लिइएको छ ।