काठमाडाैं – चालु आर्थिक वर्षको चैत्र २६ गतेसम्म संघीय सरकारको कुल खर्च ७ खर्ब ६८ अर्ब २५ करोड रहेको छ । यो रकम कुल विनियोजनको ४७.०५ प्रतिशत हो । सोमबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनको क्रममा अर्थमन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै संघिय सरकारको कुल खर्चबारे जानकारी दिएको हो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब ७२ अर्ब ७८ करोड मात्र रहेको थियो । चालु आर्थिक वर्षको यस अवधिमा भएको खर्च गत आर्थिक वर्षको सोही अवधिको भन्दा १४.२ प्रतिशतले बढी हो । कूल खर्चमध्ये चालु खर्च ६ खर्ब ५ अर्ब ६३ करोड अर्थात विनियोजनको ५६.८५ प्रतिशत र पुँजीगत खर्च ९७ अर्ब ६६ करोड अर्थात विनियोजनको २५.८३ प्रतिशत रहेको छ।
त्यस्तै वित्तीय व्यवस्थाअन्तर्गतको खर्च ६४ अर्ब ९७ करोड अर्थात ३४.२९ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विनियोजित बजेटका आधारमा चालु खर्च ५४.३८ प्रतिशत, पुँजीगत खर्च २८.०८ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ३३.३३ प्रतिशत मात्र रहेको थियो।