काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र र संविधान जोगाउनका आगामी निर्वाचनहरुमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताएका छन् ।
सहरी विकास मन्त्रालयले सहरी विकाससम्बन्धी आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले अब राजनीतिक स्थिरतासँगै विकासको बाटोमा अघि बढ्न अग्रगामी शक्तिले नै चुनाव जित्नुपर्ने दाबी गरे । अध्यक्ष दाहालले अहिले पनि परिवर्तनलाई उल्ट्याउन खोज्ने तत्वहरू सक्रिय रहेको बताएका छन् । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले भने, ‘पोहोर जसरी संविधान नै उल्ट्याउने प्रयास भयो, अब पनि त्यहीँ शक्तिले जित्यो भने हामीले बलिदानी दिएर ल्याएको संविधानसँगै गणतन्त्र नै जोखिममा पर्न सक्छ ।’
संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन खोज्नेलाई परास्त गरेको उल्लेख गर्दै दाहालले भने, `संघीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशी चरित्रको संविधानलाई रुचिकर नठान्नेहरू कुनै न कुनै रूपले यसलाई विघटन गर्ने वा अर्को दिशातर्फ लैजाने कसरतहरू भइरहेको छ । यस्तो परिस्थितिमा हामीले जनताले अनुभूत गर्नेगरी विकासमा फड्को कसरी मार्ने भन्ने कुरा अत्यन्तै महत्त्वपूर्ण छ ।´
कार्यक्रममा प्रचण्डले सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको प्रशंसा गर्दै भने, ‘उहाँले धेरै राम्रो काम गर्नु भएको छ, अरु मन्त्रालयले पनि यस्तै गरी काम गरोस् ।’ सहरी विकासका लागि दीर्घकालीन रणनीति जरुरी भएको भन्दै उनले आगामी दिनमा गठबन्धनका उम्मेदवारले चुनाव जितेर देश विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।