मणिपुर : अघिल्लो साता दुई कुकी महिलालाई ‘नग्न बनाएर हिँडाएको’ भिडियो भाइरल भएपछि भारतीय राज्य मणिपुरको थोरबुङमा पुनः हिंसा भड्किएको छ ।
मैतेई र कुकी समुदायबीच द्वन्द्व थप चर्किंदै जाँदा थोरबुङमा लगातार गोलाबारी भइरहेको छ । हिंसाग्रस्त मणिपुरमा गोलाबारी मात्र होइन, ‘मोर्टार हमला’ पनि भइरहेको अधिकारीहरूले जनाएका छन् ।
पछिल्लो छ दिनदेखि मणिपुरको काङ्वे गाउँमा मैतेई र कुकीबीच गोली हानाहान भइरहेको स्थानीयरूले बताएका छन् । ‘म घर छाडेर छेउतिरको शरणार्थी शिविरमा सरेको छु । असम राइफल्सको क्याम्प मेरो घरबाट ३०–३५ मिटर मात्र टाढा छ । तर, हिजो राती कुकी जातिले चर्को गोलाबारी गरे । मेरो घरमा छापा मारिएको छ । घरको भित्तामा गोलीका निशान छन्,’ राहत शिविरका पीडितले भने ।
मणिपुरको शरणार्थी शिविर होस् या राहत शिविरमा त्यहाँपनि डर कायमै छ, लगातार बमबारी भइरहेको छ । टिनका छाना गोलीले च्यातिँदै छन् । सडकमा सयौं गोलीका छर्राहरू छरिएका छन् । मानिसहरू भाग्दै हिँडिरहेका छन् । मैतेई र कुकीहरू डरै–डरमा बाँचिरहेका छन्, एकले–अर्कालाई भेटेपछि मारिदिन्छन् भन्ने भय छ ।
थोरबुङको पुओगाकचाओ इखाई गाउँमा बुधबार रातभर लडाइँ चल्यो, यो मैतेई बाहुल्य गाउँ हो । भिडन्तपछि मैतेईहरू घर छाडेर भागेका छन् । ‘पछिल्लो छ दिनदेखि हामी सुत्न सकेका छैनौँ । कसरी सुत्ने होला, कुकीहरूले घरमा गोली हान्छन्, हाम्रो गाउँमा मोर्टार प्रहार भइरहेको छ । मेरो गाउँको एउटा केटा मरे,’ गाउँकी मुखिया चम्खन्नबी भन्छिन् ।