डडेल्धुरा: संघीय सरकार मातहत रहेको डडेल्धुरा अस्पतालमा १९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ। तर, अहिले अस्पतालमा छात्रवृत्ति करारबाट ३ जना मात्र विशेषज्ञ चिकित्सक रहेका छन्। ११औं तहका मेसुको पद रिक्त छ।
त्यस्तै, ‘विशिष्ट विशेषज्ञ’ भनिएको अस्पतालमा १८ जना मेडिकल अफिसरको दरबन्दी रहेकोमा हालसम्म ६ जना नेपाल सरकारको तर्फबाट, छात्रवृत्ति र करारबाट १६ जना करारमा कार्यरत छन्।
यस्तै, ३४ स्टाफ नर्सको दरबन्दी रहेकोमा २९ जना सरकारको तर्फबाट, ६ जना अस्पताल विकास समितिको तर्फबाट र करारमा २६ जना र १ जना दैनिक ज्यालादारी गरी ६२ जना कार्यरत छन्। अन्य प्राविधिक स्वास्थ्यकर्मीको पनि अस्पतालमा अभाव रहेको छ।
१०९ जनाको स्वीकृत दरबन्दी रहेको अस्पतालमा हाल ५२ जना मात्रै कार्यरत रहेको अस्पतालको तथ्यांकले देखाएको छ। अहिले अस्पतालमा ४७ पद रिक्त छन्।
अस्पतालमा यत्रो संख्यामा पद खाली हुने गरेकाले व्यापक आलोचना हुने गरेको छ। शनिबार अस्पतालले आयोजना गरेको समिक्षा कार्यक्रममा पनि अधिकांश सहभागीहरुले ‘अस्पतालमा किन आउँदैनन् विशेषज्ञ चिकित्सक’ भन्दै प्रश्न तेर्साएका थिए। सोही प्रश्नको जबाफ दिंदै अस्पतालका निमित्त मेसु चेतराज भट्टले विभिन्न कारणवस डडेल्धुरामा डाक्टर आउन नमान्ने बताए। उनले आफ्नै उदाहरण दिंदै भने- ‘म आउनु अघि पनि मलाई त्यहाँ काम गर्ने माहोल छैन, ज्यानलाई समेत खतरा हुन्छ भनिएको थियो। तर म बैतडीकै भएकाले केही नहोला भन्दै आएको हुँ।’
उनले अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सक, कन्सल्टेन्ट तथा मेडिकल अधिकृतलाई दोब्बर सुविधा दिइरहेको बताएका छन्। नेपाल सरकारबाट पाउने तलब र अस्पताल व्यवस्थापन समितिले दिने सुविधा गरेर सबैले दोब्बर तलब पाइरहेको उनले जानकारी दिए। विशेषज्ञ चिकित्सकले त तेब्बर तलब खाने गरेको उनले बताए।
तर पनि राजधानीबाट टाढा भएको भ्रम, यहाँको भौगोलिक अवस्था तथा ‘आक्रामक’ सेवाग्राही भनेर स्वास्थ्य मन्त्रालयमा दुष्प्रचार गरिएकाले चिकित्सक आउन नमान्ने उनको प्रतिक्रिया थियो। ‘एकपटक चिकित्सकमाथि हातपात भएको घटनाबारे त्यहाँ दुष्प्रचार गरिएको छ। त्यही कुराले गर्दा उहाँहरु आउन मान्दैनन’ उनले भने।
साथै उनले कोरोनाका कारण अध्यापन अवरुद्ध भएकोमा विशेषज्ञ चिकित्सक ‘पासआउट’ नभएकाले यो वर्ष पनि उनीहरु आउने सम्भावना नरहेको बताएका छन्। तर, समिक्षा कार्यक्रममा सहभागी भएकाहरुले डडेल्धुरामा निजी अस्पताल नरहेका कारण चिकित्सक नआउने गरेको बताएका थिए।
चिकित्सकले अस्पतालबाहेक बाहिर पनि काम गर्ने गरेकोमा त्यो माहोल जिल्लामा नभएकाले उनीहरुले नआउने सहभागीको ठम्याई थियो। साथै अस्पतालभित्रकै कर्मचारीको धम्की तथा दादागिरीका कारण अस्पतालमा चिकित्सक नटिक्ने बताइएको थियो।
‘अस्पतालको गुणस्तर खस्कियो, व्यवस्थापन निरीह बन्यो‘
शनिबार सम्पन्न समिक्षा कार्यक्रममा सहभागीहरुले अस्पतालको सेवा खस्किएको भन्दै कडा आलोचना गरेका थिए। कार्यक्रमको सुरुमै बोल्दै पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष हिक्मत सिंहले डडेल्धुरा अस्पतालको हरेक सेवा अवरुद्ध भएको बताए।
उनले व्यवस्थापन कमजोर भएको आरोप लगाउँदै अध्यक्ष हुन तछाडमछाड गर्ने तर चिकित्सक ल्याउन नसक्ने बताए। ‘हात भाँच्चिदासमेत रेफर गरिन्छ, गाइनो मुर्तिको रुपमा रहेको छ’ उनले भने, ‘यहाँका डाक्टरको बानीव्यहोरा नै राम्रो छैन। सूचना माग्दा थुन्न लगाइन्छ।’
यस्तै राष्ट्रिय जनमोर्चाका कार्यवाहक अध्यक्ष टंक अवस्थीले अस्पतालमा बिरामीहरूको सहजताका लागि हेल्प डेस्क स्थापन गर्नुपर्ने माग गरे। उनले आफ्ना भाइभतिजा भर्ती गर्ने स्वार्थका कारण चिकित्सक आउन नमान्ने आरोप लगाए।
उनले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले बाहिर आफ्नो मेडिकलमा औषधि किन्न पठाउने गरेको आरोप समेत लगाए। समिक्षामा नबोलाइएको तर आफू जबर्जस्ती आएको स्मरण गराउँदै उनले भने, ‘डडेल्धुराको भविष्य अस्पतालको हातमा छ। तर यहाँ रेफर गरिने अस्पताल भनेर पहिचान गराउन खोजिदै छ।’
उद्योग वाणिज्य डडेल्धुराको तर्फबाट बोल्दै खेमराज अवस्थीले पनि सेवाग्राहीले उपचार नपाएको गुनासो गरे। करारका कर्मचारी भर्ना मात्रै गरिने अस्पतालका कारण सदरमुकामको व्यवसाय समेत खस्किएको उनले स्पष्ट पारे।
‘सातै पहाडी जिल्लाका बिरामी आउने गरेकोमा अहिले सबै तराई झर्छन्। अब सेवा गुणस्तरीय बनाएर हामी व्यवसायीको व्यवसाय बचाइदिनुस्’ उनले भने।
उता निर्माण व्यावसायी संघका अध्यक्ष भवानी अवस्थीले अस्पतालले निर्माण सम्बन्धीका टेन्डर नियमविपरीत खोलिने गरेको गुनासो पोखे। उनले पनि अस्पतालका कर्मचारीले रुखो व्यवहार देखाउने गरेको बताए।
नेकपा माओवादीका नेता यादव ओझाले सूचना मान्दा प्रहरी बोलाएर आफुलाई थुन्न लगाएको स्मरण गराउँदै अस्पतालमा तोडफोड गर्नेलाई उन्मुक्ति दिएको गुनासो पोखे।
‘सूचना अधिकारीलाई निवेदन दर्ता गराए। १५ औं दिन अस्पतालमा आए। डेढ घण्टा बसेँ तर सूचना पाएन’, उनले भने, ‘उल्टै म सूचना माग्दा थुनिए। सामान्य नागरिकले सूचना माग गर्दा थुनिनुपर्ने अवस्था छ। तर अस्पताल तोडफोड गर्नेलाई पक्राउ गरिएन।’
‘डाक्टर ल्याउन पनि आन्दोलन नै गर्नुपर्ने हो ?’ भनेर प्रश्न गर्दै उनले उपकरण भएपनि दक्ष जनशक्ति नहुँदा नागरिकले सास्ती भाग्नु परेको बताए।
यस्तै पत्रकार महासंघ डडेल्धुराका सचिव पुष्कर भण्डारीले समिक्षा कार्यक्रममा प्रस्तुत भएको अस्पतालको आयव्यय खुलस्त नभएको बताए। उनले बजेटलाई खण्डिकरण गरेर प्रस्तुत गरिनुपर्ने माग राख्दै अस्पतालमा रेबिजको भ्याक्सिन पनि नपाइएको उदाहरण दिए।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तरसिंह विष्टले नामले चलेको तर कामले नचलेको अस्पतालले बिरामीका अपेक्षा पूरा गर्न नसकेको बताए।
‘संख्या देखाउने र राम्रो मात्रै देखाउनका लागि मात्रै वार्षिक समीक्षा गर्नु हुँदैन’ उनले भने, ‘अस्पताल पारदर्शी बन्नु पर्दछ। यसलाई सुधार गर्न आवश्यक छ। राजनीति थलोभन्दा पनि जनसेवाको थलो बनाउनु होला।’ उनले अस्पताल आफू जोगिन कुनै रिस्क नै नलिएर बिरामीलाई रेफर गर्ने गरिएको आरोप लगाए। उनले अस्पतालबाट दैनिक २/३ जना सुत्केरी तथा गर्भवत रेफर हुने गरेको बताए।
नागरिक समाज डडेल्धुराका अध्यक्ष रमेश जोशीले अस्पतालको प्रशासनिक तथा व्यवस्थापकीय पक्ष निकै कमजोर रहेको बताए।
नेकपा एकीकृत सामाजवादी डडेल्धुराका जिल्ला कमिटी सचिवालय सदस्य डम्बर साउँदले चिकित्सकलाई ल्याउन जिल्लाका सबै सरोकारवालाले पहल गर्नुपर्ने बताए। उनले अस्पताल आउने सडकको दुरवस्थाबारे बताउँदै सरसफाईमा समेत व्यवस्थापनको ध्यान नगएको बताए।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी डडेल्धुराका अध्यक्ष राजेन्द्र भण्डारीले अस्पताल कुनै एकदलको नभएको स्पष्ट पारे। अस्पतालको विकासका लागि सबै दल लाग्नुपर्ने उनको भनाई थियो।
उनले अस्पताल प्रशासनले अध्यक्ष निकट दलका मान्छेलाई तेल र टिकट दिने गरेको आरोप लगाए। उनले कार्यक्रममा उपस्थित प्रदेश सांसदलाई प्रश्न गर्दै भने, ‘चिकित्सक कसले ल्याउने हो ? ‘
नेपाली कांग्रेस(विपी) का जिल्ला सभापति भरत नेपालीले अस्पतालको अक्सिजन प्लान्ट निर्माणमा अनियमितता भएको आरोप लगाए। उनले अस्पतालबाट प्रदान हुने स्वास्थ्यबीमाको सेवा पनि पूर्णरुपमा कार्यान्वयन नभएको बताए। उनले ‘अब अस्पताल व्यवस्थापनविरुद्ध आन्दोलन नै गर्नुपर्ने हो’ भन्दै प्रश्न गरे।
यस्तै नेकपा एमाले डडेल्धुराका जिल्ला संयोजक गजेन्द्र शाहीले अस्पतालको भवन निर्माण चाँडै सक्न ठेकेदार कम्पनीलाई ताकेता गर्नुपर्नेमा जोड दिए। उनले अस्पतालमा चिकित्सक आउने माहोल भित्रकै कर्मचारीले नबनाएको आरोप लगाए। यस्तै उनले बिरामीसँग सम्बन्धित नभएका व्यक्ति अस्पतालका विभिन्न फाँटमा घुसेर सहयोग गरेको भन्दै प्रचारबाजी गरिरहेको बताए।
नेपाली काँग्रेस डडेल्धुराका सहसचिव प्रेमबहादुर महरले मेसु नै अस्पतालमा नबस्ने गरेको गुनासो आइरहेको बताए।
उनले समिक्षा कार्यक्रममा मेडिकल कलेजको प्रगति सार्वजनिक नगरेको बताउँदै अस्पताल प्रशासनले चिकित्सक ल्याउन पहल नगरेको आरोप लगाए। ‘यहाँ अस्पताल प्रशासनभित्रैबाट धम्काएर चिकित्सक नआउने माहोल बनाइन्छ। जबकी सामान्य टाँका लगाउनसमेत रेफर गरिने स्थिति छ।
दुवै माननीयको एक लाइन – कमजोरी भएकै छ
समिक्षा कार्यक्रमका अतिथि सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्का र डा. तारा जोशीले अस्पतालले सेवाग्राहीलाई दिने सेवा प्रभावकारी बनाइदिनुपर्ने बताएका थिए।
खड्काले अस्पतालमा समस्या रहेको औल्याउँदै आगामी दिनमा बिरामीबाट कुनै गुनासो नआउनुपर्ने भन्दै व्यवस्थापन र प्रशासनलाई सचेत गराइन्। अस्पताल आउने सडकको बेहाल भएको र भित्र सरसफाईमा समेत कमजोरी भएको भन्दै त्यसमा सुधार गर्नसमेत उनले आग्रह गरिन्।
उनले सबैभन्दा महत्त्वपूर्ण चिकित्सक ल्याउन सबैले पहल गर्नुपर्ने बताइन्। ‘सेवा प्रभावकारी बनाउनुपर्छ। आगामी दिनमा बिरामीले सास्ती भोगेको खबर सुन्न नपरोस्’, उनले भनिन्, ‘डाक्टर ल्याउन पहल गरिरहेको छौँ। अस्पताल फोहोर छ। अस्पतालको सरसफाइमा पनि ध्यान दिन जरुरी छ।’
उनले प्रत्येक ३/३ महिनामा अस्पतालले आफ्नो आयव्यय सार्वजनिक गर्नुपर्ने बताइन्। साथै आफ्ना निकटका करार कर्मचारी हटाउन सबैले लाग्नुपर्ने उनको भनाई थियो। उनले सूचना माग्दा नागरिक थुनिने र तोडफोड गर्नेलाई उन्मुक्ति दिने काम अस्पतालबाट हुनु नहुने बताइन्।
यस्तै कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशीले जिल्लावासीले ठूलो संघर्ष गरेर स्थापना गरेको डडेल्धुरा अस्पतालको पहिचान नबिगार्न अनुरोध गरे। उनले स्थापना भएको अस्पतालले गुणस्तर र विश्वसनीयता कायम गर्नुपर्ने बताए।
‘जनतालाई जनशक्ति, उपकरण र संरचनासँग मतलब हुँदैन उनीहरुले खोज्ने भनेको सेवा हो’ उनले भने, ‘आम नागरिकले अस्पतालबाट राम्रो उपचारको अपेक्षा गरेका हुन्छ। सोही अनुसारको सेवासुविधा हामीले दिन सक्नुपर्छ।’
उनले अस्पतालको समस्या समाधानका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए।
यस्तै कार्यक्रममा बोल्दै डडेल्धुराका निमित्त प्रमुख जिल्ला अधिकारी जितेन्द्रप्रसाद ओझाले प्रशासनमा पनि अस्पतालको सेवाका बारेमा बेलाबेलामा गुनासा आउने गरेको बताए। उनले सेवा सुधारमा सबैले ध्यान दिनुपर्ने बताए। उनले प्रत्येक २ महिलामा अस्पतालको अनुगमन गर्ने प्रतिबद्धता जनाए।
जिल्ला समन्वय समितिका संयोजक गगनसिंह भण्डारीले कर्मचारीको व्यवहार र अस्पतालको सेवा सुधारमा अस्पताल प्रशासन र व्यवस्थापन समितिले ध्यान दिनुपर्ने बताए।
सुधार गर्छौ
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.चेतराज भट्टले जनअपेक्षा अनुसार गुणस्तरीय सेवा प्रवाहसहित निरन्तरता कायम राख्न, जनशक्तिलाई टिकाइ राख्न, सेवाग्राही र सरोकारवालाहरूसँग सन्तुलित व्यवहार र सन्तुष्टि प्रदानमा सुधार गरिने बताए।
उनले जनशक्ति अभावकै कारण सेवा प्रभाव प्रभावित भएको बिलौना पोखे। ‘एक फाँटमा ३ जना चिकित्सक हुनुपर्नेमा यहाँ एकैजनाके सेवा दिइरहेका छन्। उ बिदामा गयो भने सेवा बन्द हुन्छ’ उनले भने, ‘तर पनि सिमित स्रोतसाधन र जनशक्तिले पनि सक्दो सेवा प्रभाव गरेकै छौं।’
यस्तै अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले चिकित्सक नआउनुमा मन्त्रालय दोषी भएको बताएका छन्। ‘अस्पतालका कमीकमजोरी सुधार गरेर जान्छौं। दोस्रो कार्यकाल चुनौतीपूर्ण छ। सबै पक्षको सुझाव र सहयोगको अपेक्षा गरेको छु,’ उनले भने, ‘तीनचार महिनादेखि यहाँ भएका डाक्टरहरू सरुवा भएर गए।डाक्टर नपठाउनुमा मन्त्रालयको नै दोषी हो। हामीले पटकपटक पत्राचार गरेका छौँ। तर डाक्टर आउदैनन्।’
उनले विशेषज्ञ चिकित्सक जाने क्रम जारी रहेकाले काज सरुवा गरिएका चिकित्सक फिर्ता बोलाउने प्रक्रिया थालेको बताए।
उनले अस्पताल आउने सडकको टेन्डर भएर भदौबाट निर्माण सुरु हुने बताउँदै अस्पतालका कर्मचारीको व्यवहार तथा सरसफाईमा सुधार ल्याउने प्रतिबद्धता जनाए।