धनगढी : माओवादीका नेता शंकर लुहार ‘धुगाल’ ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध षड्यन्त्र गर्न खोजे जनसेना तयार गर्न चेतावनी दिएका छन्।
आज आइतबार धनगढीमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो चेतावनि दिएका हुन्। प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारका फाइल खोल्न थालेपछि उनीविरुद्ध षड्यन्त्र भइरहेको उनको दावी छ।
उनले भने, ‘प्रधानमन्त्री प्रचण्ड सरकारले एक क्विन्टल सुन काण्ड, ललिता निवास जग्गा प्रकरण लगायतका विभिन्न भ्रष्टाचारका फाइल खोली रहेको छ, प्रतिक्रियावादीहरुलाई कुनैपनि षड्यन्त्र गर्ने प्रयास गरे भने सुदूरपश्चिमबाटै विद्रोह गर्छौं।’
प्रचण्ड व्यक्ती नभएर विचार भएको उनले दावी गरेका छन्। उनले प्रचण्ड सरकारले काखा पाखा नगर्ने गरेको पनि बताएका छन्। यस्तै धनगढी उपमहानगरपालिकामा पनि नीतिगत भ्रष्टाचार भइरहेको संकेत गर्दै आफ्नो पार्टीले त्यस्ता गतिविधिलाई नजिकबाट नियाली रहेको बताएका छन्। उनले अन्त्यमा प्रचण्ड सरकारकाविरुद्ध लाग्ने जो कोही विरुद्ध ५० हजार जनसेना अगाडि बढाउने बताएका छन्।