कैलाली: सुदूरपश्चिम प्रदेश सरकार विस्तारबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भएको छलफलमा भोलि शीर्ष नेताहरूबीच सरकार विस्तारको गाँठो फुकाउने सहमति भएको छ ।
माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डसँग भेट गर्न भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी नागरिक उन्मुक्ति पाटीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, संरक्षक रेशम चौधरी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, आर्थिक मामिला मन्त्री नरेश बहादुर शाही र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी पुगेका थिए ।
प्रधानमन्त्री प्रचण्डसँग नागरिक उन्मुक्तिका नेताहरूले यसअघि भएको सहमति अनुसार सुदूरपश्चिममा आफ्नो पार्टीलाई २ मन्त्रालय दिनुपर्ने बताएका थिए । मुख्यमन्त्री शाहले केन्द्रबाट प्रदेशको गाँठो फुकाउनुपर्ने बताएका थिए । प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिम सरकार विस्तारबारे सहमति गर्न भोलि बिहान ९ बजे शीर्ष नेताहरूबीच छलफल हुने बताएका छन् । उक्त छलफलपछि प्रदेश सरकार बिस्तार हुने अपेक्षा लिइएको छ ।