तेजी कुँवर
हाम्रो नेपाली समाजमा एउटा् उखान छ, ‘मर्ने बेलामा हरियो काक्रो !’ के मृत्यु उमेर पुगेर मात्रै आउने गर्छ र ?
उमेरको घेराबन्दीभित्र राखेर यो उखान टुक्का भन्ने गरिन्छ। उमेर मात्रै एउटा संख्या हो। मान्छे उमेरको हिसाबले होइन स्वास्थ र मानसिक सन्तुलनको हिसाबले चल्छ। सकारात्मक सोचले उर्जावान बनाउँछ।
जबसम्म हामी शारीरिक मानसिक रूपमा स्वस्थ छौं तबसम्म जवान। यदि हामी शारीरिक मानसिक रुपले स्वस्थ छैनौं भने जवान छौँ भनेर ठान्नु मात्रै एउटा भ्रम हुन्छ।
आज पनि धेरै यस्ता उदाहरणहरु हाम्रो सामू छन्। विश्वका प्रख्यात उद्योगपति, लेखक, गायककार र कलाकार ८०-८५ को उमेरमा पुग्दा पनि फुर्तिका साथ आ-आफ्नो कार्यमा व्यस्त छन्।
हामीले अलिकति गम्भीर भएर आफ्नो स्वास्थप्रति ध्यान दियौं भने हामी चुस्त स्वस्थ रहन्छौं। आफ्नो दिनचर्या खानपिन, समयमा सुत्ने उठ्ने, सहि तालमेल बनायौं भने हामी ९० प्रतिशत रूपमा आफुलाइ चुस्त राख्न सक्छौं। साथै सकारात्मक सोच राख्न अत्यन्त जरुरी छ।
सकारात्मक सोचले मानसिक रूपमा चुस्त राख्न मद्दत गर्छ भन्ने मेरो धारणा छ। धेरै साथीभाईको जमातले पनि हाम्रो जीवनशैलीमा केही नराम्रो असर पार्छ। हरेकको आफ्नो बानी हुन्छ। हामीले ध्यान दिन थाल्यौं र उनेवहरुको लहलहैमा लागेर आफूलाइ ढाल्न खोज्यौं वा उनीहरुको पहिरन रहनसहन प्रति ध्यान दिएर आफुलाइ ढाल्न खोज्यौं भने हाम्रो मानसिक सन्तुलन खलबलिन पुग्छ। हाम्रो जीवनशैली लथालिङ्ग हुनपुग्छ। त्यसैले साथीहरुको जमात बनाउनुभन्दा केही राम्रो साथी मात्रै राख्नुहोस्।
आफ्नो क्षमता अनुसारको मात्रै गर्नुहोस्। अरुको देखासिखी गर्दा जीवनमा खुशी प्राप्त हुनसक्दैन। यसले उल्टो असर गर्छ। हामी मानसिक रूपमा अस्वस्थ हुनसक्छौं।
हाम्रो सोचले हाम्रो जीवनमा राम्रो नराम्रो असर गर्छ। हाम्रो बिचार व्यवहार संकुचित छ भने अरुको खुशीमा पनि नकारात्मक टिकाटिप्पणी मात्रै गर्छौं। हालै नेपाली सिने जगतका एक कलाकारको आमाको बिहे भयो। उनको उमेरलाई लिएर धेरै टीकाटिप्पणी भयो। उहीँ उखान ‘मर्ने बेला हरियो कार्को।’ मानसिक शारीरिक हिसाबले चुस्त दुरुस्त हुनुहुन्छ र यो समयमा आउँदा आफुलाइ माया गर्ने सहि व्यक्ति पाएर आफ्नो जीवनको बाँकी पल बिताउन बिहे गर्नुभयो भने अरुलाई किन टाउको दुखाई ? के नारीलाई सधैं खुम्चिएर आफ्नो खुशी गुम्साएर राख्नुपर्ने भनेर कहिंकतै लेखिएको छ र ?
खुशी हुने, रमाउने अधिकार सबैलाई छ। यसको मतलब यो होइन कि आफ्नो मान मर्यादा उल्लंघन गरेर जथाभावी रूपमा आफुलाइ प्रस्तुत गर्ने। यसको अर्को पाटो छ। फेरि आफ्नो खुशी भनेर टिकटकमार्फत छाडा गतिविधि गर्ने होइन। कतिपय दिदीआमाकै उमेरका महिलाहरु अति नै छाडा भएर टिकटक भिडियोमार्फत आफुलाइ प्रस्तुत गर्नुहुन्छ। अनेकौं गतिविधि गर्ने केवल लाइक र फ्लोअर बढाउन कै निम्ति यो सब किन ? के हाम्रो संस्कृति हामीलाई मुल्यवान छैन र ? के हाम्रो आफ्नो इज्जत परिवारको इज्जत हाम्रो लागि यति सस्तो भयो ? केवल लाइ बढाउनु यति ठूलो कुरा गर्ने ?
राम्रो काम राम्रो कुराहरु गर्नु आफ्नो राम्रो पहिचान बनाउनु ताकी दुनियाँसामुउ तपाईंलाई इज्जत मिलोस। तपाईंको छाडा गतिविधिको भिडियोले फ्लोअर बढ्न सक्छ। तर, हजारौं नकारात्मक कमेन्ट आउछन्। तपाईंको आफ्नो पहिचान र इज्जत त खरानी हुन्छ नी ।
के आफ्नो अस्तित्व गुमाएर तपाईंलाई खुशी मिल्नसक्छ र ? आफ्नो र समाजको अगाडी आँखा मिलाएर शिर ठाडो पारेर उभिन सक्नुहुन्न भने तपाईंले कमाएको फ्लोअरको के नै औचित्य रह्यो र ?
आफ्नो खुशी सुकर्म गरेर खोज्नुहोस्। रमाउनुहोस खुशी हुनुहोस्। उमेरको हिसाबले होइन आफ्नो स्वस्थ जीवनको अनुसार आफुलाइ प्रस्तुत गर्नु। ‘मर्ने बेला हरियो काक्रो’ भन्ने उखान टुक्का बिर्सेर स्वस्थ भए मर्ने बेलापनि हरियो काक्रो खाँदै रमाउँदै मर्न सकिन्छ भन्ने सोचको सृजना गर्नुहोस् !
अरुको खुशीमा अरुको उपलब्धीमा एकपटक रमाएर त हेर्नुहोस जीवन खुशी नै खुशीले भरिन्छ। हाम्रो मन हाम्रो तन स्वच्छ, हाम्रो सोच सकारात्मक छ भने जीवनमा स्वर्गको अनुभूति हुन्छ।