धनगढी: नेकपा एकीकृत समाजवादीकी नेतृ, पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य पूर्णा जोशीले प्रदेश राजधानी तोक्ने बेला आफूले बार्गेनिङ गर्नुपरेको बताएकी छन्। आज (आइतबार) सुदूरपश्चिम प्रदेश सभाका वर्तमान तथा निवर्तमान माननीय सदस्यहरुबीच अनुभव आदानप्रदान मन्चमा बोल्दै पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेकी जोशीले आफू डोटीबाट प्रतिनिधित्व गर्ने माननीय भएकाले स्वाभाविक रुपमा आफूले राजधानी दिपायलमै राख्न चाहेको बताइन्।
उनले भनिन्, -मैले न्यायगत रुपमै पनि त्यो क्षेत्र (दिपायल) का लागि बोल्ने कुरा थियो। दिपायललाई नै प्रदेशको राजधानी तोक्न भूमिका खेले। तर त्यो सम्भावना नरहेपछि तत्कालीन सभामुखले नै बार्गेनिङ गर्नुस्, लिने-दिने कुरा मिलाउनुस् भनेपछि बार्गेनिङ गर्नुपरेको थियो।’
उनले थपिन्, -त्यो बेला राजधानी गोदावरी राख्दा मैले नै आफैंले प्रादेशिक निर्देशनालयका कार्यालय र कामकारबाही दिपायलबाट चलाउन माग गरे। त्यसपछि लिने दिने कुरामा सहमति भएर निर्णय गर्दा त्यो मैले गरेको निर्णय जीवनकाललै अविस्मरणीय कुरा रह्यो।’ यस्तै आफ्नो पार्टी इन्चार्जबाट समेत दबाब आउँदा आफूले दिपायल राजधानीको कुरा नफेरेको उनको दाबी छ।