काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो सेप्टेम्बर तेस्रो हप्ता छिमेकी देश चीनको भ्रमण गर्ने भएका छन् । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बरको तेस्रो/चौथो हप्ता चीनको भ्रमण गर्ने जानकारी दिए ।
आज आइतवार प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरूपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ कार्यक्रममा उले भने, ‘हामी त्यसको तयारी अवस्थामा छौँ ।’ उनले वर्तमान सरकार सधैँ छिमेकी तथा मित्रराष्ट्रसँग सुमधुर सम्बन्ध बनाउने र निरन्तरता दिने पक्षमा रहेको स्पष्ट पारे ।
वर्तमान सरकार गठनपछि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण फलदायी भएको उल्लेख गर्दै उनले त्यो भ्रमणमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताए । उनले अन्तर्राष्ट्रिय सम्बन्ध परस्पर राष्ट्रिय हित र स्वार्थका आधारमा अघि बढाउँदा नै देश र नागरिकको हित हुने उल्लेख गर्दै विदेश नीतिका सम्बन्धमा सबै पार्टी र पक्षबीच सहमति हुनुपर्ने धारणा व्यक्त गरे । रासस