कञ्चनपुर : वेदकोट नगरपालिका–४ मा पर्ने बगुन खोला तटबन्धको काममा वडा अध्यक्षले नै अवरोध गरेको पाईएको छ । आफूले सङ्कलन गरेका ढुङ्गा खरिद गर्नुपर्ने भन्दै उनले तटबन्धको काममा अवरोध गरेका हुन् ।
वडा अध्यक्ष नरेन्द्रबहादुर बोहराले ठेकेदारको काम गर्दैआएका छन् । विगत देखि नै प्राकृतिक सम्पदाको दोहन गरेर वडा अध्यक्षले आर्थिक लाभ लिँदैआएको स्थानीयको भनाइ छ ।
वडा अध्यक्ष निर्वाचित भएपछि आफ्नो भाइलाई अघि सारेर उनले खोला दोहनको काम गरिरहेका स्थानीयको गुनासो छ । ‘वडा अध्यक्षले आफ्नो भाइको सहायताले ढुङ्गा तस्करी गरिरहेका छन्’ स्थानीयले भने, ‘सबै वडा अध्यक्षबाटै परिचालित मान्छे हुन् ।’ वडा अध्यक्ष बोहराले पनि आफूले काम नगरेको बल्कि भाइले गरेको बताएका छन्।
७० प्रतिशत काम सम्पन्न भए पनि वडा अध्यक्षले जम्मा गरेको ढुङ्गा खरिद नगरेपछि काममा अवरोध गरिएको तटबन्ध ठेक्का लिएको निर्माण कम्पनी एमबी ग्रुपले आरोप लगाएको छ ।
गत असार १ गतेदेखि बर्षातका कारण जिल्लाका नदी र खोलामा उत्खनन् कार्य बन्द गरिएको छ । तर कञ्चनपुरको बेदकोट नगरपालिका –४ मा रहेको बगुन खोलामा गैरकानुनी ढङ्गले खोलाको दोहन जारी रहेको स्थानीयको भनाइ छ ।