डडेल्धुरा: फोहोर व्यवस्थापनमा विगतदेखि नै चुक्दै आएको अमरगढी नगरपालिकाले अहिले पिकनिक स्पोट नजिकै डम्पिङ साइट बनाएको छ। सदरमुकाम नजिकै रहेको मालम दोबाटाको सडक छेउमै फोहोर थुपार्न लागेको १ वर्ष पुग्न थालेको छ।
गत पुसदेखि उक्त क्षेत्रमा सदरमुकामको फोहोर थुपारेको नगरपालिकाले सुरुमा केहि महिनामै अर्को डम्पिङ साइट बनाउने भनेको थियो। तर, हालसम्म पनि जग्गा नपाइएको कारण देखाउदै नगरपालिकाले उक्त क्षेत्रलाई दूषित बनाइरहेको छ। जसका कारण सो क्षेत्रमा मनोरञ्जन लिन पिकनिक खान जानेलाई असर परिरहेको छ। त्यतिमात्रै हैन, सोही सडक भएर वडा नम्बर १ बस्ने मालमवासीले पनि नाक थुनेर हिंड्नुपर्ने बाध्यता आइलागेको छ।
सोही समस्या सतहमा आउँदा मालम गाउँवासी विरोधमा उत्रिएका छन्। सहनशिलताको सीमा नाघेपछि २१२ स्थानीयको हस्ताक्षरसहित हिजो (आइतबार) नगरपालिकालाई ज्ञापनपत्र बुझाइएको छ। स्थानीयले ७ दिने अल्टिमेटमसहित संघर्षका कार्यक्रम गर्ने चेतावनी दिएका छन्।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायलाई बुझाइएको ज्ञापन पत्रमा ७ दिनभित्र उक्त क्षेत्रमा फोहर फाल्न रोकिनुपर्ने, फोहर फाल्न नरोकिए संघर्षका कार्यक्रमहरु गर्ने, उक्त क्षेत्रलाई पर्यटकिय क्षेत्र बनाइनुपर्ने लगायतका माग छन्।
ज्ञापनपत्र बुझ्दै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उपाध्यायले फोहर व्यवस्थापनका लागि पहल भइरहेको बताएका छन्। ‘यो भने नेपालकै समस्या हो, रहरले नगरपालिकाले त्यता फालेको हैन। अमरगढीभित्र फोहोर फाल्ने ठाउँ नै देखिदैन’ उनले भनेको उद्दृद गर्दै स्थानीय सुरत तमोलीले भने।
ज्ञापनपत्र बुझाएपछि नगरपालिकामा केहीबेर भनाभनसमेत भएको थियो। स्थानीयलाई नगरप्रमुख डिल्लीराज जोशीले सुरुमा असोजभित्र नयाँ जग्गा किनेर डम्पिङ साइट निर्माण गर्ने आश्वासन दिएका थिए। उनले भनेका थिए, ‘भोट नदिए पनि केहि छैन। म मालम आउँछु। चुनावको गुनासो केहि छैन तर म अहिलेको फोहोर फाल्ने ठाउँ खाली गराउँछु, त्यहाँ पिपल लगाउँछु।’
तर, पछि स्थानीय र नगरपालिकाबीच भनाभान भएको थियो। भनाभनकै क्रममा प्रशासकिय अधिकृत उपाध्यायले ‘म जाँदैन, तपाईं जे गर्नुहुन्छ गर्नुस’ भनेको स्थानीय सुरत तमोलीले बताए।