काठमाडौँ : क्विन्टल सुन तस्करी प्रकरणका आरोपीमाथि अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सात दिनको म्याद पाएको छ।
अभियुक्तलाई आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा अदालतको आदेशले उनीहरुमाथि अनुसन्धान गर्न सिआइबीले सात दिनको म्याद पाएको हो।
राजस्व अनुसन्धान विभागको हिरासतमा रहँदा उनीहरुलाई उच्च अदालत पाटनबाट म्याद थप गरी अनुसन्धान हुँदै आएको थियो। अब भने जिल्ला अदालत काठमाडौँबाट आवश्यक प्रक्रिया अघि बढ्ने छ। म्याद मिलानपछि आजै उनीहरुलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न थालिएको प्रहरी प्रवक्ता कुबेर कडायतले बताए।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर १०० किलो सुन तस्करी प्रकरणको अनुसन्धान थालेको छ। उक्त घटनाको अनुसन्धान गर्न आइतबार विभागले सिआइबीलाई हस्तानतरण गरिएको थियो।
राजस्व अनुसन्धान विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’मा हालेर ल्याईएको अन्दाजी १०० किलो सुन बरामद गरेको थियो। झण्डै २० दिन अनुसन्धान गरेपछि प्रधानमन्त्रीको निर्देशनमा थप अनुसन्धानको जिम्मा सिआइबीलाई दिइएको हो।