पदम जोरा, डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिका- ३ का दुर्गम बस्तीमा विद्युतीकरण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।
जिल्लालाई पूर्ण विद्युतीकरण बनाउने अभियान अन्तरगत दुरदराजका बस्तीमा विद्युतीकरण भइरहेको वितरण केन्द्र प्रमुख रमेश अवस्थीले जनाए।विगतदेखि नै पोल गाड्ने र तार खिच्ने जिम्मा पाएका ठेकेदार बेपत्ता हुँदा विद्युत बिस्तारमा समस्या सृजना भएको उनको भनाई छ।
२०७८ मा नै काम सक्नुपर्ने भए पनि आर्थिक मन्दीको बहानामा ठेकेदार र निर्माण कम्पनीले ढिलो गरेको उनले स्वीकारे।
परशुरामका धेरै दुर्गम बस्तीमा अझै बिजुली नपुग्दा अन्धकारमय छन्। परशुराम १, २, ३, ८ र ११ का पहाडी क्षेत्रहरुमा ढुवानी समस्याका कारण विद्युत बिस्तार हुन सकिरहेको छैन। गाउँमा विद्युत बिस्तार नहुँदा जोगबुडा सदरमुकामको उज्यालो हेरि चित्त बुझाउनु परेको दुःखेसो परशुराम २ का राजबहादुर बोहराले सुनाए।
स्थानीय जनप्रतिनिधि र आफूहरुको पटक-पटकको दबाबका कारण परशुराम ३ का बिरादेउ, थला (थपला) चाखी, ऐरखन्ड, भट्वाडी लगायतका गाउँबस्तीमा सोमबार मात्रै विद्युतीकरण भएको स्थानीय कैलाश कुमार पाण्डेयको भनाई छ। ‘त्यहाँका स्थानीयको पटक–पटक गुनासो आउँदा वडा नम्बर ३ का अध्यक्षको ट्रान्सर्फमर मागको पत्र लगेर विद्युत प्राधिकरणमा बुझाई २ थान ट्रान्सर्फमर ल्याउन सफल भयौं’ उनले भने, ‘२०७८ मै उक्त बस्तीमा बिजुली बलिसक्नुपर्ने हो तर पोल गाड्ने र तार खिच्ने जिम्मा पाएका निर्माण कम्पनी र विद्युत प्राधिकरणको लापरबाहीले परशुराम ३ लाई अन्धकारमा राखिएको थियो।’
परशुराम ३ को मिणामा नेपाल टेलीकमको टावर, २ वटा स्थानीय एफएम टावर रहेको भए पनि राजनीतिक पहुँचको भरमा पटक–पटक उपलब्ध पोल, तार र ट्रान्सर्फमरहरु अन्यत्रै जाडन हुँदा थला, थपाला, चाखी, विरादेउ आदि बस्ती अन्धकारमय थिए। मिणामा प्रयाप्त भोल्टेज आपूर्ति नहुँदा अझै सास्ती भएको स्थानीयको गुनासो छ।
सोमबार विद्युत प्राधिकरण नोलाईट सेवा परशुराम र वडा अध्यक्षसहित स्थानीयहरुको सहभागितामा वडा नम्बर ३ को बिरादेउ र थलामा गरि २ थान ५० केभी क्षमताका ट्रान्सर्फमर जडान गरेर बिजुली पुगेको वडाअध्यक्ष नरेश बहादुर खवासले जानकारी दिए। अन्य बाँकी बस्तीहरु तल्लो आमथला, तल्लो शिर्ष, हल्द्वाडीमा पनि छिट्टै विद्युत बिस्तार गरिने उनले बताए।