काठमाडौँ – आसन्न स्थानिय तहका निर्वाचनलाई लिएर नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालयको विस्तारित बैठक जारी रहेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा जारी बैठकमा प्रचण्डले परिणाम देखिने गरी चुनावमा केन्द्रित हुन निर्देशन दिएका छन् ।
बैठकले उम्मेदवारहरु छिटो चयन गर्ने र परिणाम देखिने गरी अगाडि बढ्ने निर्णय गरेको हो ।
जति सक्दो छिटो उम्मेदवार चयन गर्नका लागि वातावरण सिर्जना गर्ने निर्णय भएको सहभागी एक नेताले भने । उनका अनुसार शीर्ष नेतृत्वले गठबन्धनमा रहेका दलहरुका बीचमा छलफल गर्ने र अन्य नेताहरु जिम्मेवारी अनुसार सम्बन्धित पालिकामा उम्मेदवार चयन गर्ने गरी प्रस्तुत हुने निर्णय भएको छ ।
बैठकमा पार्टी अध्यक्ष प्रचण्डले एकताबद्ध भई परिणाम देखिने गरी चुनावमा होमिन निर्देशन दिएका थिए । सत्ता गठबन्धनका दलहरुबीच तालमेल नभए एमालेसँग तालमेल नगर्ने बरु एक्लै चुनाव लड्नुपर्ने प्रचण्डले बताएको एक नेताले बताए ।