धनगढी: सुदूरपश्चिममा केही समययता डेङ्गुको प्रकोप बढ्दै गएको देखिन्छ। विशेषगरी कैलाली, कंचनपुर र दार्चुलामा डेङ्गुको प्रकोप बढी रहेको छ। आजसम्मको तथ्यांक हेर्दा प्रदेशभर अहिलेसम्म ६३५ जनामा डेङ्गुको संक्रमण भैसकेको देखिएको छ। यो महिना (भदौ) को मात्र तथ्यांक हेर्दा अहिलेसम्म ३०८ जनामा संक्रमण देखिएको छ। यसले गर्दा संक्रमण तीव्र रुपमा फैलिईरहेको देखिन्छ। हालसम्मको तथ्यांकले सबैभन्दा बढी कैलालीमा संक्रमित रहेको र सबैभन्दा न्यून (१ जना) बैतडीमा रहेको देखाएको छ।
यस्तो महामारीको समयमै धनगढीका निजी अस्पतालहरुले भने मौकामा चौका हान्न खोजेका छन्। यानिकी उनीहरूले डेङ्गु परीक्षणका नाममा लुट मच्चाइएको पाइएको छ। धनगढीका निजी अस्पतालहरुले सेवाग्राहीबाट डेङ्गु परीक्षणको मात्रै चर्को शुल्क लिँदै लुट मच्चाएका हुन्।
स्रोतका अनुसार धनगढीको सेती प्रादेशिक अस्पतालले डेङ्गु परीक्षण गरेको ५ सयमात्रै रुपैयाँ लिने गरेको छ। डेङ्गु परीक्षणमा प्रयोग गरिने कीट पनि करिव ३०० सम्मको मूल्यमा पाइने बताइन्छ। तर धनगढीका निजी अस्पतालहरुले भने महामारीकै बेला डेङ्गु परीक्षणको दोब्बर मात्र होइन, तेब्बरसम्म शुल्क लिने गरेको पाइएको छ। जसअनुसार लुट्नैको लागि खोलिएको झै गरि धनगढीको सारथी अस्पतालले डेङ्गु परीक्षाणको २ हजार शुल्क लिइरहेको छ।
उसो त यो अस्पताल बेलाबेला विवादित पनि भैरहने अस्पताल पनि हो। यस्तै अर्को मेडिकल माफिया दुष्यन्त बस्नेतको संजिवनी अस्पतालले १ हजार ८ सय शुल्क लिने गरेको छ। जबकी यो अस्पतालले सञ्चालन स्वीकृति तथा अनुमती पनि पाएको छैन। यस्तै सिपी अस्पताल र कैलाली अस्पतालले १ हजार ५ सय शुल्क लिने गरेका छन्। सिपी अस्पताल धनगढीको पुरानो निजी अस्पताल भएपनि सेवा सुविधा जे जस्तो होस् ठगीमा भने अपडेट भएकै देखिन्छ।
यस्तै धनगढीको मायामेट्रो अस्पताल, स्वस्तिक अस्पताल, ओमआशा अस्पताल र केजी अस्पतालले भने १ हजार २ सय रुपैयाँ लिने गरेको पाइएको छ। यिनीहरूले लिइरहेको रकम पनि दोब्बर बढी नै हो। त्यस्तै अर्को धनगढीको नवजीवन अस्पतालले १ हजार १ सय, सौभाग्य अस्पतालले १ हजार शुल्क लिने गरेको छ। त्यस्तै धनगढीको नोभा अस्पतालले भने ६ सय मात्रै शुल्क लिने गरेको पाइएको छ।
यसरी निजी अस्पतालहरुले चर्को शुल्क असुल्दा सेवाग्राही भने महामारीकै समयमा ठगिन थालेका छन्। यस्तो प्रकारको ठगी नियन्त्रण तथा यी अस्पतालहरुलाई नियमन गर्ने निकायहरु भने सुतेजस्तै रहेको सेवाग्राहीहरुको गुनासो छ।
यस विषयमा जिल्ला प्रशासन कैलालीका प्रमुख (सिडिओ) युवराज कटेलले भने पालिकाबाट अनुमती पाएका/नपाएका र प्रदेश मातहत सञ्चालनमा रहेका अस्पतालहरुको अनुगमन नहुँदा समस्या आएको बताए। उनका अनुसार प्रदेशको स्वास्थ्य निर्देशनालयले अनुगमन नै गरेको छैन, यस्तै धनगढी उपमहानगरपालिकाले पनि अनुगमन नगर्दा यस्तो दुखद परिस्थिति आएको हो।
तर, अब आफूले स्वास्थ्य कार्यालयसँग समन्वय गरेर यो लुट धन्दा रोक्न भोलिबाटै काम गर्ने बताए। यो स्वास्थ्यसँग जोडिएको गम्भीर सवाल रहेको उनको भनाई छ।
डेङ्गु कस्तो रोग हो, सर्छ कि सर्दैन?
डेङ्गु एक प्रकारको ज्वरो हो। यो लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोग हो। डेङ्गु सरुवा रोग अन्तर्गत परे पनि यो मानिसबाट मानिसमा सिधा सर्ने होइन। यसलाई लामखुट्टेले सार्ने गर्छ। एडीज् जातको लामखुट्टेले एउटा बिरामीलाई टोकेको छ र त्यसले ८ देखि १२ दिनमा आफूबाट अरूमा सार्न सक्ने क्षमता विकास गर्छ र त्यसपछि जति जनालाई टोक्छ त्यति जनालाई डेङ्गु सार्दै जान सक्ने सम्भावना रहन्छ।