काठमाडौं: एसिया कप २०२३ अन्तर्तग हिजि भारतविरूद्धको खेलमा नेपाली टिमले गरेको प्रदर्शनबाट सन्तुष्ट रहेको नेपालका कप्तान रोहितकुमार पौडेलले बताएका छन्।
भारतसँग पराजित भए पनि नेपाली टिमको प्रदर्शनमा रोहित सन्तुष्ट देखिएका हुन्। ‘नेपाली टिमको प्रदर्शनमा सन्तुष्ट छु। विशेषगरी ब्याटिङमा हाम्रा ओपनरले राम्रो गरे। मिडल अर्डरमा हामीले अझै राम्रो गर्न सक्थ्यौं। मैले २६०-२७० रन सम्मको स्कोर राम्रो हुने सोचेको थिएँ,’ खेलपछिको पत्रकार सम्मेलनमा उनले भने।
बलिङबारे उनले भने, ‘बलिङमा हाम्रो लक्ष्य राम्रो एरियामा बलिङ गरेर उनीहरुलाई रोक्ने थियो। पानीका कारण राम्रो बलिङ गर्नु हाम्रो लागि चुनौती थियो।’
सोमबार श्रीलंकाको पल्लेकेलेमा भारतविरूद्ध पहिले ब्याटिङ गरेको नेपालले २३० रन जोडेको थियो। वर्षाले प्रभावित खेलमा भारतले विनाविकेटको क्षतिमा लक्ष्य पूरा गरेर १० विकेटको जित हात पारेको थियो।