धनगढी: नेकपा (एकीकृत समाजवादी) का नेता तथा डोटीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री प्रेमबहादुर आलेमगरले नेपालमा रहेका क्यासिनोले नेताहरूलाई चन्दा दिने गरेको ठोकुवा गरेका छन्। अस्ती सिंहदरबारभित्रै लेखा समितिको बैठकमा उनले यस्तो बताएका हुन्।
उनका अनुसार उनले आफू पर्यटनमन्त्री हुँदा राज्यलाई कर नतिर्ने क्यासिनोबाट करोडौं कर उठाएका थिए।
यस्तै उनले त्यसबेला कर नतिर्ने एक क्यासिनोको त लाइसेन्स नै खारेज गरेको बताए। अहिले पनि ६ वर्षदेखी कर नबुझाएका क्यासिनो चलिरहेको उनको दाबी छ।
यस्तै उनले राजनीतिक दल र ठूला नेताहरूलाई क्यासिनोले १ करोडदेखि ५ करोडसम्म चन्दा बुझाउने गरेको खुलासा गरे। तर त्यसको प्रमाण भने उनले दिएका छैनन्।
उनले आफू मन्त्री हुँदा त्यो बेला आफूले १ अरब ५ करोड रुपैयाँ क्यासिनोबाट कर उठाएको दाबी गरे। अहिले पनि ढाई अरब कर उठाउन बाकी रहेको उनको जिकिर छ।
यस्तै अर्को सन्दर्भमा आलेले आफू मन्त्री हुँदा त्यो बेला एक क्यासिनोका मालिकले आफ्नो घरमै आएर तपाइको नयाँ पार्टी छ के सहयोग गर्नुपर्छ ? भनेर घुस दिने खोजेको बताए। तर आफूले घुस नलिएर घरबाटै निकालेको पनि उनले सुनाए।
उनले भने, ‘मैले घरबाहिर निकालेको थिए। पछि उनको लाइसेन्स नै खारेज गरिदिए। तर उसले पछि अदालतबाट स्टे अडर ल्याएर अहिले पनि क्यासिनो चलाइरहेको छ।’ यो सबै ठूला नेता र पोलिटिकल लिडरका कारण भएको उनको ठमम्याई छ।