-खगेन्द्र गिरी कोपिला
२०४४ सालमा म वीरगन्जमा काम गर्थें। त्यो वर्ष त्यहाँ पञ्चायतका छ ओटा वर्गीय संगठनहरुको राष्ट्रिय अधिवेशन भएको थियो। विश्वबन्धु थापा प्रोढ संगठनको केन्द्रिय सभापतिमा उठ्नुभएको थियो। मेरो गृह जिल्ला कञ्चनपुरबाट वीरगन्ज पुगेको प्रतिनिधि मण्डलमा मेरो बुवाका साथीहरु पनि हुनुहुन्थ्यो। उहाँहरूले प्रोढ संगठनको सभापतिमा विश्वबन्धु थापालाई भोट दिने विचार गर्नुभएको थियो।
बुवाका साथीहरुलाई वीरगन्जमा खाने बस्ने व्यवस्था मैले गरिदिएको थिएँ। तर उहाँहरुले विश्वबन्धु थापालाई भोट दिने गरेको निर्णय मलाई मन परेको थिएन। ‘विश्वबन्धु थापा भनेका पहिले वीपीलाई र पछि राजालाई धोका दिने मान्छे हुन् तिनी राम्रो मान्छे हैनन्’ भन्ने भ्रमले गाँजेको थियो मलाई पनि। मैले बुवाका साथीहरुलाई कन्भिन्स गर्दै भनें, ‘अंकल ! हजुरहरु त्यस्तो मान्छेलाई किन भोट दिस्सिन्छ ? अरु कुनै राम्रो मान्छेलाई दिस्स्यो न भोट !’
देवीप्रसाद तिमिल्सिना अंकलले भनिस्स्यो, ‘कांग्रेसीहरुका कुरा मात्रै तैले सुनेको रैछन्। तैंले उहाँलाई राम्ररी चिनेकै रैनछस् बाबू !’ पछि उहाँहरुसंगै मैले पनि विश्वबन्धु थापालाई भेट्न पाएँ। उहाँ अलख्या मठ ओल्तिरको एउटा धर्मशालामा बस्नुभएको थियो। म भर्खरको केटो थिएँ। मभित्र जोश थियो। अलि कडा भएर बोलेपछि केके न गरें जस्तो लाग्थ्यो। मैले विश्वबन्धु थापालाई सोधिहालें -‘तपाइँले पहिले वीपीलाई र पछि राजालाई किन धोका दिनु भो नि ?’
म अझैं सम्झिन्छु उहाँले गहिरिएर मलाई हेर्नु भएको थियो र भन्नूभएको थियो ‘हेर्नुहोस् बाबू ! हुन त म २०१७ सालमा कांग्रेसको सचेतक थिएँ। पार्टीभित्र अनेक समस्या थिए। सरकार र संसद चारैतिरबाट घेरिदै आएको थियो। बिग्रिदै गएको परिस्थितिले राजालाई देश नै संकटमा पर्न लागेको अनुभूत भयो होला। संभवत: राजाले पुस १ को स्टेप त्यही कारणले लिइबक्सियो होला। म त्यतिखेर युएनओमा गएको थिएँ। स्वदेश फर्केपछि राजाले दर्शन भेटको निम्ति बोलाइबक्सियो । गएँ। राजाले विश्वबन्धु मलाई सहयोग गए भनेर हुकुम भएपछि मैले नाइँ भन्न सकिनँ।’
मैले प्रतिप्रश्न गरेँ -‘नाइँ किन भन्न सक्नु भएन त ?’ उहाँले भन्नूभो -‘मेरा कैयौं पुर्खाले राजाको सेवा गर्दै आएका हुन्। राजा र देशको निम्ति रगत बगाएका छन्। राजाज्ञाको अवहेलना गर्नुलाई पाप मान्ने संस्कार मेरो रगतमै छ। राजाको आज्ञाको पालन गर्नु धर्म हो भन्ने सोचियो।’ मैले फेरि सोधें -‘२०१७ सालमा त्यसरी राजालाई साथ दिएको मान्छे भएर पनि २०३६ सालमा राजालाई बहुदल माग्ने स्थितिमा किन पुग्नु भो त ?’
उहाँले हाँस्दै भन्नुभो -‘आफ्नो राजालाई प्रजाले केही माग्नु कसरी नराम्रो भयोरु कसरी धोका भयो ? चोर्नु र खोस्नु पो भएन। विश्वबन्धुले राजा र जनताभन्दा अरु सामु कहिल्यै केही माग्दैन।’
त्यो दिन उहाँले अंकलहरुसंग कुरा गर्न छाडेर म फुच्चेसंग ६/७ मिनेट जति कुरा गर्नु भएको थियो। उहाँसितको वार्तापछि मेरा धेरै भ्रमहरु निवारण भएका थिए। आरम्भतिर मैले अलि घमण्डीजस्तो भएर उहाँलाई तपाईं भनेको थिएँ पछि त म लल्याकलुलुक भएर हजुर भन्न थालेको थिएँ।
उहाँले त्यो दिन भनेको सम्झिन्छु -‘वीपी मेरा नेता मात्रै थिए। राजा त आस्था हुन् नि। वीपीका पुर्खाहरुको नेपाल एकीकरणमा कुनै योगदान थिएन। मेरा पुर्खाहरुले त पृथ्वीनारायण शाहको पछाडि लागेर यो देशको लागि रगत बगाएका थिए। त्यही भएर राजा वा वीपी मध्ये एकलाई छान्नु पर्ने अवस्था आउँदा मैले राजालाई छानेको हुँ। राजालाई छानेर मलाई राम्रै भयो । ३३ वर्षको उमेरमा गृहमन्त्री हुन पाएँ। ३६ वर्षको उमेरमा सभामुख हुन पाएँ।’
हुन पनि हो पञ्चायतकालका ठूला पञ्चहरुमध्ये कसैलाई भारतको, कसैलाई चीनको त कसैलाई अमेरिकाको मान्छे भनेर आरोप लाग्यो। तर तुल्सी गिरि र विश्वबन्धुलाई ‘राजाको पक्का मान्छे’ भन्ने पहिचान मात्रै मिलेको थियो। २०१७ सालमा श्री ५ महेन्द्रबाट पञ्चायत ल्याउने निर्णय गरिबक्सेपछि त्यसलाई वैचारिक र सैद्धान्तिक आयाम दिने काम तुल्सी गिरिबाट र संगठनात्मक पुट दिने काम विश्वबन्धु थापाबाट भएको थियो। तुल्सी गिरि र विश्वबन्धु नाताले साढु-साढु पनि थिए।
राजाको पछाडी लागेर विश्वबन्धु थापाले जुन उचाई छोए कांग्रेसमैं रहेको भए त्यो संभव थिएन। कतै कुनामा बसेर ‘वीपी यसो भन्नुहुन्थ्यो, वीपी उसो भन्नुहुन्थ्यो’ भन्नमा मात्र सीमित हुने थियो विश्वबन्धु थापाको परिचय। उनै पञ्चायती व्यवस्थाका एक कुशल कालीगढ र श्री ५ महेन्द्रका निकट सहयोगी श्री विश्वबन्धु थापा आज भाद्र २४ गते ९६ वर्ष पुगेर ९७ वर्षमा लाग्नुभएको छ। उहाँलाई शुभ जन्मदिनको अवसरमा आरोग्यता र दीर्घ जीवनको मंगलमय शुभकामना ।