धनगढी: धनगढीको सेती प्रादेशिक अस्पतालका निवर्तमान प्रमुखले सरुवा भएपछि बिदामा बसेर छुट्टी थपेको थप्यै गरेको पाइएको छ। सेती प्रादेशिक अस्पतालका निवर्तमान प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले यस्तो गरेको पाइएको हो।
स्रोतका अनुसार पाण्डेले सरुवा भएपछि लगातार ३ पटक बिदा माग गरेका छन्। उनले सरुवा भएलगत्तै बिदा मागेर घर बसेकोमा बिदा समय थप्याथप्यै गरेका हुन्। ११औं तहका चिकित्सक पाण्डेलाई २०७५ साउनमा स्वास्थ्य निर्देशनालयले सेतीको मेडिकल सुपरीडेन्टेन्टको जिम्मेवारी दिएको थियो।
त्यसपछि हालै यहीँ भदौ ६ गते सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकको निर्णयले उनलाई महाकाली प्रादेशिक अस्पतालमा सरुवा गरेको थियो। सरुवा भएपछि पाण्डे दोस्रो दिनबाटै (भदौ ७ गते) बिदामा बसेका थिए। अस्पताल स्रोतका अनुसार उनले पहिलोपटक भदौ ७ गतेदेखि १४ गतेसम्मको बिदा लिएका थिए।
त्यसपछि उनले १४ गतेदेखि २० गतेसम्म बिदा थप्न निवेदन दिएका थिए। र, अहिले पनि उनले रमाना नबुझेर भदौ २७ गतेसम्मका लागि बिदा माग गरेको बताइएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयमा उनले बिदाका लागि निवेदन चढाएपनी अन्तिम पटकको निवेदन भने स्वीकृत नभएको बताइन्छ।
उसो त, सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश निजामती कर्मचारी सरुवा तथा काज सम्बन्धि मापदण्ड २०८० मा कुनै पनि कर्मचारीलाई सरुवा तथा पदस्थापन, काज वा कामकाज गर्ने गरि बाटो म्यादबाहेक २१ दिनभित्र खटाइएको ठाउँमा हाजिर हुनुपर्ने उल्लेख छ। तर, सोही मापदण्डमा काबु बाहिरको परिस्थिति परी सो म्यादभित्र मनासिब आधार र कारण खुलाई तालुक मन्त्रालयलाई निवेदन दिएमा सम्बन्धित कार्यालयले थप ७ दिनभित्र हाजिर गराउन सक्ने उल्लेख छ।
सोही मापदण्डअनुसार डा. पाण्डेले आफूलाई समस्या परेको भन्दै मन्त्रालयमा निवेदन दिएर बिदामा बसेका हुन्। निकटस्थ स्रोतले भने पाण्डेले आफू धनगढीस्थित मन्त्रालय वा अस्पतालमै बस्न चाहेकाले रमाना बुझ्न ढिलाई भएको बताएको छ।
यता, पाण्डेले रमाना नबुझ्दा सेती अस्पतालमा भने अवस्था भद्रगोल बनेको छ। मेसु पाण्डेले सरुवा भएपछि नयाँ आउने मेसुलाई जिम्मेवारीसहित अस्पतालको आर्थिक दायित्वको जिम्मेवारी पनि हस्तान्तरण हुने गर्दछ। तर, अहिले सो दायित्व हस्तान्तरण नहुँदा अस्पतालका कामकारबाहीमा समस्या आएको हो।
निमित्त मेसु डा. शेरबहादुर कमरले अर्थसँग जोडिएका क्रियाकलाप गर्न नपाउने हुँदा अहिले अस्पतालको नयाँ कर्मचारी भर्नामा पनि अवरोध आएको छ। डा. कमरले यो अन्योलताले अस्पतालको अवस्था बिजोक बनेको बताए। अस्पतालका थुप्रै महत्त्वपूर्ण कामहरु रोकिएको पनि कमरले बताए।
उनले भने, ‘अहिले इमर्जेन्सी सर्भिसका लागि असहज भएको छ। नयाँ कर्मचारी भर्नादेखि अन्य कुराहरूमा पनि गाह्राे भएको अवस्था छ। यो समस्याबारे हामीले सामाजिक विकास मन्त्रालयलाई लिखित र मौखिक रुपमा जानकारी गराएका छौँ।’
यस्तै, सामाजिक विकास मन्त्रालयका सचिव ज्ञानप्रसाद ढकालले पनि सरुवा भएका मेसु पाण्डेले बिदाका लागि मन्त्रालयमा निवेदन पेस गरेको तर स्वीकृत भने नभएको जानकारी दिए।
पाण्डेले डकुमेन्टमा आफूलाई समस्या परेकाले बिदा माग गरेको जिकिर गरेको उनले बताए। त्यस्तै सेतीमा परेको समस्या र सकसबारे पनि मन्त्रालयमा छलफल भैरहेको सचिव ढकालको भनाई छ।