काठमाडौं : नामलाई लिएर विवादमा आएको चलचित्र ‘एक भगवत् गीता’ को निर्माण पक्ष र धार्मिक संघसंस्थाबीच सहमति जुटेको छ ।
चलचित्र विकास बोर्डमा आज बसेको निर्माण पक्ष र धार्मिक संघसंस्थाका पदाधिकारीहरुको बैठकले चलचित्रको नाम परिवर्तन गरेर प्रदर्शन गर्ने सहमति गरेको हो । सहमतिअनुसार चलचित्रको नाम अब ‘एक भागवत र एक गीता’ राखिनेछ । त्यस्तै, चलचित्रको नामसँगै ‘सामाजिक कथा’ लेख्ने पनि सहमति भएको छ ।
‘एक भगवत् गीता’ को शीर्षक परिवर्तन गरी “एक भागवत र एक गीता (सामाजिक कथा)” राख्ने सहमति भयो । चलचित्र प्रवर्द्धनमा कुनै पक्षबाट विरोध वा व्यवधान सिर्जना नगर्न एवं चलचित्रको प्रचार प्रवर्द्धनमा सबै पक्षले सहयोग गर्न र धार्मिक एवं सांस्कृतिक सद्भाव र सहिष्णुतालाई कायम गर्न सबै पक्ष प्रतिबद्ध रहने निर्णय गरियो’, सहमतिपत्रमा उल्लेख छ ।
भदौ २९ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको नामलाई लिएर विभिन्न हिन्दु धार्मिक संघसंस्थाले आपत्ति जनाउँदै आएका थिए । धार्मिक संघसंस्थाले विरोध जनाएपछि चलचित्र विकास बोर्डले चलचित्रको सेन्सर अनुमति रोकेको थियो ।
सुनिलकुमार थापाको लगानी तथा झरना थापाको निर्देशनमा तयार भएको चलचित्रमा सुहाना थापा, धिरज मगर र विपिन कार्कीको मुख्य अभिनय रहेको छ ।