काठमाडौँ: कोशी प्रदेश प्रहरी गण रानीमामा कार्यरत वरिष्ठ सई लक्ष्मण महतराले चोरीको मोटरसाइकल प्रयोग गर्ने गरेको उजुरी परेपछि छानबिन थालिएको छ । उनले चोरीको मोटरसाइकल प्रयोग गर्ने गरेको भन्दै २१ साउनमा प्रहरी प्रधान कार्यालयमा बेनामे उजुरी दर्ता भएको थियो ।
चोरीको मोटरसाइकलमा प्रदेश नं. १–०१–०१३ प ७०२२ नम्बर राखेर कुदाउने गरेको भन्दै महतराविरुद्ध उजुरी परेपछि प्रहरी प्रधान कार्यालयले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा छानबिनको लागि पत्र पठाएको थियो । प्रदेश प्रहरी कार्यालयले उजुरीउपर छानबिन भइरहेको जनाएको छ ।
सई महतरा यसअघि इलाका प्रहरी रानी, विराटनगरमा लेखापालको रूपमा कार्यरत थिए। उनी सरुवा भएर प्रदेश प्रहरी गणमा पुगेका हुन्। इप्रका रानीमा हुँदादेखि उनी चोरीको मोटरसाइकल प्रयोग गर्दै आएको उजुरीमा उल्लेख छ। उजुरीमा उनले तस्करसँग मिलेमतो गरेर पैसा लिने गरेको समेत आरोप लगाइएको छ।