धनगढी: नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभा सदस्य तथा पूर्व सभामुख सुवास नेम्वाङप्रती श्रद्धाञ्जली अर्पण गर्न समाजवादीका नेताहरु एमालेको कार्यालयमा पुगेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कैलालीका जिल्ला अध्यक्ष, सचिव सहितका नेताहरुले नेम्वाङलाई एमाले कैलालीको कार्यालयमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन्।
मंगलबार उनीहरुले नेकपा (एमाले) कैलाली जिल्ला पार्टी कार्यालयमा राखिएको श्रद्धान्जली व्यक्त कार्यक्रममा फोटोमा माल्यार्पण गरेका थिए।
नेकपा विभाजनपछि एमालेबाट छुट्टिएर समाजवादी पार्टीमा आबद्ध भएका जिल्ला अध्यक्ष विमलकुमार जोशी, सचिव दीर्घ जोशी लगायतका नेताहरु स्वर्गीय नेम्वाङप्रति श्रद्धान्जली व्यक्त पार्टी कार्यालयमा पुगेका थिए।
पार्टी विभाजनपछि उनीहरु पहिलोपटक पुगेका हुन्।
सो क्रममा श्रद्धाञ्जली अर्पण गर्दै समाजवादीका अध्यक्ष जोशीले संविधान सभाका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य स्वर्गीय सुवास नेम्वाङको मृत्युले समग्र कम्युनिष्ट आन्दोलनमा क्षती पुगेको बताए।