हेटौँडा: हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत डा.विकास थापा र डा.प्रशान्त विडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा युवाहरुको एक समूहले सांघातिक आक्रमण गरेको छ ।
डेङ्गुका कारण पदमपोखरीका एक पुरुषको एक महिनाअघि भएको मृत्युलाई डाक्टरको लापरबाहीले भएको भन्दै युवाको समूहले डाक्टरमाथि कुटपिट गरेको बताइएको छ ।
नेपाल चिकित्सक संघले उक्त घटनाको निन्दा गर्दै विज्ञप्ति जारी गरी चिकित्सकमाथि कुटपिट गर्नेलाई कानूनी दायरामा ल्याउन माग गरेको छ ।
संघका अनुसार गत साउन २२ गते डेंगी रोगको लक्षण लिई उपचारका लागि अस्पताल आएका ति बिरामीलाई थप उपचारका लागि २३ गते चितवनको सुविधासम्पन्न अस्पताल रिफर गरिएको थियो । तर, साउन २५ गते उपचारका क्रममा बिरामीको निधन भएपछि परिवारजनले क्षतिपूर्तिका लागि धम्की दिँदै आएका थिए ।
संघले ७२ घण्टाभित्र उक्त घटनामा संलग्न दोषीलाई कानूनी कारबाही नगरिए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिएको छ ।