धनगढीः धनगढीमा मृत फेला परेकी युवतीको प्रकरणमा प्रहरीले अनुसन्धान सकेको छ। कैलाली प्रहरीले दार्चुलाको मार्मा गाउँपालिका–६ घर भएर धनगढीको दिपेन्द्र प्रहरी स्कुलमा पढाउँदै आएकी २२ वर्षीया राजेश्वरी डडालको मृत्युु प्रकरणको अनुसन्धान सकेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी देवेन्द्रबहादुर पालले सो घटनाको अनुसन्धान सकिएको र फाइल सरकारी वकिलको कार्यालयमा बुझाइएको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनकाअनुसार आत्महत्या दुरुत्साहन मुद्दामा २५ वर्षीय जगदिश कोट्टारीलाई प्रहरीले पक्राउ गरि हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरेको थियो।
कोट्टारी अहिले पनि प्रहरी हिरासतमा छन्। यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीका इन्सपेक्टर लोकबहादुर कार्कीले पनि अनुसन्धान सकिएको र सरकारी वकिलको कार्यालयले सो फाइल सोमबारसम्म अदालत पुग्ने बताए।
प्रहरीले अनुसन्धानबाट निकालेको निष्कर्ष भने खुलाइएको छैन। मृतकले मर्नुअघि आफ्नो मृत्युको कारण प्रेमी (कोट्टारी) नै भएको भन्दै दिदी र आमाको नाममा अन्तिम सन्देश छाडेकी थिइन्। उनले प्रेमीले आफ्नो श्रीमती बन्न ‘शारीरिक सम्बन्ध’ बनाउन दबाब दिएको समेत उक्त नोटमा उल्लेख गरेकी थिइन्।
‘म पनि उसको हरेक कुरालाई साचो मान्दै गए, उपहार पाए मृत्यु। सबै दिदी ममीलाई धेरै माया गर्छु तर जताउन सकिन। बदनाम भएर पनि म किन बाच्नु हैन र’ राजेश्वरीले सुसाइड नोटमा लेखेकी थिइन्, ‘सरी दिदी ममी, हजुरहरुको राम्रो चिताउछु तर मैले के गरे?’
धनगढीको चटकपुरमा आफन्तको घरमा बस्दै आएकी डडाल घरभन्दा करिब डेढ सय मिटर उत्तरतर्फ भदौ ७ गते झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। मृतक र पक्राउ परेका विवाहित कोट्टारी प्रेम सम्बन्धमा थिए।
कोट्टारी अखिल क्रान्तिकारीबाट उम्मेदवार भएर दार्चुलाको लटिनाथ क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित समेत भएका थिए। घटनापछि मृतकका परिवारले कोट्टारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका थिए।
सम्बन्धित समाचार
धनगढीमा पुलिस स्कुलकी राजेश्वरी ‘म्याम’ मृत फेला, प्रेमी पक्राउ
राजेश्वरीको ‘सुसाइड नोट’- बदनाम भएर के बाच्नु, सरी दिदी ममी