धनगढी: धनगढीको सेती प्रादेशिक अस्पतालबाट संघीय सरकार मातहत रहेको गेटा अस्पतालमा पठाइएका विशेषज्ञ चिकित्सक तथा छात्रवृत्ति करारका चिकित्सकले क्वाटरमा कब्जा जमाएको पाइएको छ। गेटा अस्पताल, कैलालीमा सरुवा भएपछि छोडेर जानुपर्नेमा चिकित्सकहरुले सेतीकै क्वाटरमा कब्जा जमाएका हुन्।
अस्पताल स्रोतका अनुसार करिब १ महिनाअघि नै सरुवा भएर रमानासमेत बुझिसकेका चिकित्सकहरुले पनि क्वाटर छोडेका छैनन्। जसमा छात्रवृत्ति करारमा रहेका एमडीजिपी डा. गणेश फुलारा, प्याथोलोजिस्ट डा. वर्षा आचार्य रहेका छन्। पति-पत्नीसमेत रहेका उनीहरुको धनगढीमै निजी घरसमेत छ। तर सरुवा भएर रमाना बुझेर पनि बुढाबुढीद्वयले क्वाटर छोड्न अटेरी गरेका हुन्।
यस्तै संघमा दरबन्दी रही सेती अस्पतालमा कार्यरत रहेका र गेटा पठाइएका वरिष्ठ रेडियोलोजिष्ट डा. होम पन्थले पनि क्वाटर छोडेका छैनन्। त्यसैगरी सेतीमै छात्रवृत्ति करारमा रहेका डा. विप्लव कार्की र श्रृष्टी जोशीले भने रमाना समेत बुझेका छैनन्। पति पत्नीसमेत रहेका उनीहरु पनि क्वाटरमै बसिरहेका छन्।
यस्तै संघमा दरबन्दी रही सेतीमा कार्यरत रहेका र गेटा पठाइएका डा. जगदीश विष्टले पनि रमाना नबुझेको सेती अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले जानकारी दिए। उनका अनुसार सर्जन डा. मोहन नाथले भने रमाना बुझेर हिजो क्वाटर छोड्दै स्टोरवालाई क्वाटरको साँचो थमाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघमा दरबन्दी रहेका डा. जगदीश विष्ट, शंकर अधिकारी, मोहन नाथ र होम पन्थसहित छात्रवृत्ति करारका ४ चिकित्सकलाई गेटा अस्पतालमा पठाएको थियो।
यस विषयमा अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष निर्मल शाहलाई बुझ्दा उनले एक महिना बित्दा पनि क्वाटर खाली नगरिएको कुरा स्वीकार गरे। तर केही दिनमै क्वाटर खाली गरिने उनले बताए। सरुवा भएका चिकित्सकले आफूहरुलाई समस्या भएको भन्दै क्वाटरमै बसिरहेको उनको भनाई छ।
यस्तै सरुवा भएका तर क्वाटर नछोडेका डा. गणेश फुलाराले भने गेटा अस्पतालको क्वाटरको कानुनी प्रोसेस नसकिएकाले आफू केही दिन अझै सेतीकै क्वाटरमा बस्ने बताए। आउँदो शनिबारभित्र आफूले क्वाटर खाली गर्ने उनले बताए। आफ्नी पत्नी सुत्केरी भएकाले क्वाटर छोड्न ढिलाइ भएको उनको दाबी छ।
यस्तै अर्का डा. होम पन्थले भने आफूलाई सेती अस्पताल प्रशासनबाटै क्वाटर नछोड्न भनिएकाले नछोडेको बताए। उनले रमाना भने बुझिसकेका छन्। सेतीमा कार्यरत रहदा र गेटा पठाइसकेपछि पनि केही डाक्टरहरु निजी अस्पताल तथा क्लिनिकमा बस्ने गरेको समेत बताइन्छ।
उता सेतीमा नयाँ आएका चिकित्सक भने सेतीको क्वाटर खाली नहुँदा होटेलमा बसेर अस्पताल आउने गरिरहेका छन्।