काठमाडौं : कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएर जेलमा रहेका नेपालगञ्जका गुण्डा नाइके रिगल भनिने योगराज ढकाल रिहा भएका छन्। बाँके जिल्ला अदालतद्वारा हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएका रिगल आज (बुधबार) रिहा भएका हुन्।
सरकारले संविधान दिवसको अवसर पारेर दाङस्थित घोराही कारागारमा रहेका नेपाली काँग्रेस निकट तरुण दलका नेतासमेत रहेका रिगलको कैद माफी मिनाहा गरेपछि उनी छुटेका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को २९ भदौको सिफारिस अनुसार ३ असोजदेखि लागू हुने गरी रिगलको कैद माफी मिनाहा गरेका हुन्।
रिगल छुटेपछि तरुण दल र उनका सहयोगी कार्यकर्ताहरु आज स्वागत गर्न घोराही कारागारमै पुगेका थिए। उनीहरुले जेलबाहिर तरुण दलको झण्डा ओढाएर रिगललाई स्वागत गरेका थिए। यतिमात्र होइन, रिगलको स्वागतमा सडकनै जाम हुनेगरी गाडीको लस्कर लगाइएको थियो।
रिगलले ४० प्रतिशतमात्रै सजाय काटेकोमा जेलकै सिफारिसअनुसार कैद माफी गरिएको घोराही कारागारका जेलर लक्ष्मणसिंह राठौरले महेन्द्रनगरपोष्टलाई बताए। उनका अनुसार आज घोराही कारागारका रिगलसहित ८ जना कैदीको रिहाई भएको छ। रिगलको ४० प्रतिशत सजाय काटिएको र ६० प्रतिशत कैद सजाय माफ गरिएको उनको भनाई छ।
नेपालगंज लगायत बाँके जिल्लामा हुने ठेक्का पट्टा, व्यवसायीहरुबाट असुल्ने रकमको विषयमा भएको विवादको कारणलाई लिएर बाँके साविक नेपालगंज-५ बस्ने रिगलले नेपालगंज उपमहानगरपालिका-८ बस्ने २८ वर्षीय चेतन मानन्धरलाई वि.स २०७२ असार २८ गते योजनाबद्ध रुपमा मारेका थिए।
सो हत्याकाण्डका मृख्य योजनाकारसमेत रहेका रिगलको ग्याङले नेपालगन्जको सुर्खेत रोडस्थित होटल स्वस्तिक होटल नजिक एक्लै रहेको अवस्थामा खुँडा प्रहार गरी मानन्धरको हत्या गरेको थियो।
घटनामा रिगलसहित १५ जना संलग्न रहेको बताइएको थियो। त्यसबेला मानन्धरको हत्या गर्नका लागि रिगलले युवाहरुलाई नेपालगन्ज बोलाई न्यूरोडस्थित इन्द्रेणी होटलको १०४ नं कोठामा आफ्नै नाममा कोठा बुक गरी बसालेर होटलमा घटनाको योजना बनाएका थिए।
सोही हत्या गरेको घटनामा उच्च अदालत नेपालगंजको २०७६ फागुन २८ गते फैसलाले रिगलसहित सबैलाई जन्म कैद सजायको फैसला सुनाएको थियो। उनी त्यसबेला तरुण दलका क्षेत्रीय सभापति थिए। प्रहरीका अनुसार रिगल गुण्डा नाइके तथा ठेक्कापट्टा र अबैध असुलीका मास्टर माइन्ड हुन्।