काठमाडौंः प्रधानसेनापति प्रभुराम शर्मा भारतको नयाँ दिल्ली जाने भएका छन्। १३ औँ ‘इन्डो–प्यासिफिक’ सम्मेलनका सहभागी हुन शर्मा ७ असोजमा दिल्ली जाने भएका हुन्।
भारतको नयाँ दिल्लीमा ८ देखि १० असोजसम्म सम्मेलन हुने छ। पहिले ‘प्यासिफिक कमान्ड’ भनिने यो संगठनलाई गएको चार वर्षदेखि ‘इन्डो–प्यासिफिक’ भनिएको छ। शर्माको भ्रमणलाई मन्त्रिपरिषद्को २३ भदौको बैठकले स्वीकृत गरेको थियो।
प्रधानसेनापति शर्मा नेतृत्वको टोलीमा उपरथी योगराज शर्मा, महासेनानी वसन्त बहादुर गौतम र सेनाका प्रमुख सुवेदार रत्नबहादुर थापा मगर पनि सहभागी हुने नेपाली सेनाले जनाएको छ।
उपरथी शर्मा र सेनानी गौतम ‘इन्डो–प्यासिफिक’ सम्मेलनसँगै आयोजना हुने ४७ औँ ‘इन्डो प्यासिफिक आर्मिज मेनेजमेन्ट सेमिनार’ आईपीएसीसीमा सहभागी हुनेछन्। नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्ण प्रसाद भण्डारीले सम्मेलनमा नेपालको नियमित सहभागिता रहँदै आएको थियो, यसपटकको सहभागिता त्यसैको निरन्तरता भएको बताएका छन्।
सम्मेलनमा ३५ मुलुकका सैन्य प्रतिनिधिमण्डल सहभागी हुने छन् भने नेपाल सहित १५ देशका सेनापतिहरू सहभागी हुनेछन्। नेपाल, भारत, अमेरिका, अस्ट्रेलिया, बङ्गलादेश, इन्डोनेसिया, जापान, मलेसिया, भुटान, ब्रुनाई, कम्बोडिया, कोरिया, मालदिभ्स, मङ्गोलिया, म्यानमार, न्युजिल्याण्ड लगायत १५ देशका प्रधानसेनापतिहरू सम्मेलनमा सहभागी हुन दिल्ली आउने कार्यक्रम रहेको छ।