धनगढी: कैलालीस्थित इलाका प्रहरी कार्यालय टीकापुरका कार्यालय प्रमुख (हाकिम) डिएसपी तुल्सीराम अर्यालको खुसुक्क सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले अर्यालको खुसुक्क सरुवा गरेर बर्दिया पठाएको हो।
कमाण्ड सम्हालेको तीन महिना नबित्दै अर्याललाई हेडक्वाटरले टीकापुरबाट जिल्ला प्रहरी कार्यालय बर्दिया पठाएको बताइएको छ। २०८० जेठ २५ गते हाजिर भएका अर्याललाई खेदेजस्तै गरी सरुवा गरेर पठाइएको हो। टीकापुरमा आएपछि शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै विवादमा आएका अर्याललाई तीन महिना पुग्न तीन दिन बाँकी रहँदै बर्दिया फालिएको हो।
अहिले अर्यालको स्थानमा नयाँ डिएसपी विश्वराज अधिकारीलाई पठाइएको छ। करिब १५ दिन अघिमात्रै हेडक्वाटरबाट अधिकारीलाई टीकापुर पठाइएको हो। १६ वर्षअघि प्रहरी निरीक्षक पदमा नेपाल प्रहरीको जागिर सुरु गरेका अधिकारी त्यसअघि पर्वत जिल्लाको प्रमुखका रुपमा कार्यरत थिए।
गुन्डागर्दी र लागुऔषधको ट्रान्जिट नै मानिने टीकापुरमा उनलाई पनि टिक्न चुनौती छ। अर्याल आउनुभन्दा पहिलेका डिएसपी उद्धब भाट पनि टीकापुरबाट चार महिनामै लखेटिएका थिए। टीकापुर घटनाको मुख्य योजनाकारका रुपमा जेल जीवन बिताएपछि राष्ट्रपतिको आममाफीबाट छुटेका रेशमलाल चौधरीलाई स्वागत गर्दाको प्रस्तुतिले विवादमा तानिएपछि उनको सरुवा भएको थियो।
त्यसपछि अर्याल आएका थिए। २०७९ माघ २५ गते हाजिर भएका भाट २०८० जेठ २५ मा सरुवा भएका थिए।