धनगढी: डोटीको पुर्वीचौकी गाउँपालिकाले एक कर्मचारीलाई स्पष्टीकरण सोधेको छ। पार्टीको कार्यक्रममा सहभागी भएर तथानाम बोलेको भन्दै नायव प्राविधिक सहायक कृषि करार सेवा अन्तरगत कार्यरत प्रेमबहादुर भण्डारीलाई स्पष्टीकरण सोधिएको हो।
भण्डारी सो पालिकाको वडा नम्बर ६ को कार्यालय गाँजरीमा कार्यरत छन्। उनलाई अस्ति असोज ६ गते पुर्वीचौकी गाउपालिका वडा नं. ४ को कार्यालय परिसरमा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा सहभागी भएकोले स्पष्टीकरण मागिएको हो।
सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुईटेलका अनुसार भण्डारी कार्यक्रमको फेसबुक लाइभमा देखिएका थिए।
यस्तै उनले कर्मचारीको आचारसंहिताविरुद्ध पार्टीको कार्यक्रममा सहभागी भएको, पालिकाको स्वीकृत बेगर कार्यालयको विरुद्धमा बोलेको, करार कर्मचारीको सम्झौतामा उल्लेख भएको प्रावधान भन्दा बाहिर गई पालिकाको कामकाज बारे बोलेको देखिएकोले स्पष्टीकरण मागेको बताइएको छ।
उनलाई २ दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ अन्यथा जागिरबाट निकालिने जनाइएको छ।