धनगढी : बझाङमा बलात्कारपछि हत्या गरिएकी बालिका सम्झना बिकका परिवारलाई उचित राहतसहित क्षतिपूर्तिकोे माग गर्दै बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेलाई ज्ञापन पत्र बुझाइएको छ।
सोमबार पीडित परिवारसहित सम्पूर्ण दलित अधिकारकर्मीले जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएका हुन्। बझाङको मष्टा गाउँपालिका–२ खिकालाकी १२ वर्षीया नाबालिका सम्झना बिकको बलात्कारपछि हत्या प्रकरणको ३ वर्ष बितेको छ।
गृहको निर्देशन र पीडितको निवेदन अनुसार २०७७ असोज १३ गते तत्कालीन निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीको अध्यक्षतामा सर्वदलीय सर्वपक्षीय बैठक बसी सम्झनाका आफन्तलाई १० लाख दिने निर्णय भएको थियो।
तर, पीडित पक्षले राहत पाएका छैनन्। प्रजिअ पाण्डेलाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ– ‘पीडितलाई १० लाख रुपैयाँ राहत स्वरुप नेपाल सरकारसंग माग गर्ने र पीडकलाई नियमानुसार कार्वाहीका लागि सम्बन्धीत पक्षको ध्यानाकर्षण गर्ने भन्ने निर्णय भए पश्चात मृतक सम्झनाको मृत शरीर दाहसंस्कारका लागि पीडित परिवारले बुझेको कुरा अवगत नै छ। नाबालिका छोरीको हत्या भएको पीडा त छदै थियो। त्यसैमा नेपाल सरकारबाट उपलब्ध गराउने भनेको राहत समेत घटना घटेको ३ बर्ष बितिसक्दा पनि उपलब्ध नहुनुले थप पीडा तथा अन्याय भएको महसुश भएको छ।’
१३ असोजको निर्णय कार्यान्वयन भई समयमै पीडित पक्षको परिवारलाई बिश्वास दिलाइएको राहात रकम उपलब्ध हुने कुरा ज्ञापन पत्रमा उल्लेख छ।
२०७७ साल असोज ७ गते गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी सम्झना मन्दिरमा निर्वस्त्र अवस्थामा मृत भेटिएकी थिइन्। बलात्कारपछि सम्झनाको हत्या गरेको आरोपमा राजेन्द्र बोहोरा पक्राउ परेका छन्।
बोहोराले असोज १४ गते मात्रै बलात्कारपछि त्रिशूलले हानेर सम्झनाको हत्या गरेको बयान प्रहरीलाई दिएका थिए। उनले बयान दिनुअघि देशभर नाबालिका सम्झनाको न्यायका लागि प्रदर्शनसमेत भएको थियो। प्रदर्शन हुन थालेपछि गृह मन्त्रालयले जिल्ला प्रशासनलाई वार्ता गर्न निर्देशन दिएको थियो।
हत्या गर्ने व्यक्ति पनि नाबालक भएकाले जिल्ला अदालत बझाङको २०७९ फागुन १६ गतेको बाल इजलासले गरेको फैसलाले जबरजस्तीकरणी गरी ज्यान मारेको र डाँका मारेको भन्दै १६ वर्ष ८ महिना बाल सुधार गृहमा राख्न आदेश दिएको थियो।