धनगढी: बाजुरामा बलात्कार काण्ड घटाएर भागेका एक युवक नेपालगञ्जमा समातिएका छन्। बाजुरास्थित जगन्नाथ गाउँपालिका-४ का २० वर्षीय दिलबहादुर बुढा बलात्कार आरोपमा पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय बाजुरा स्रोतले बुढा नेपालगञ्जमा हिजो पक्राउ परेको र अहिले जिल्ला ल्याउन लागिएको जानकारी दिएको छ। स्रोतका अनुसार नेपालगञ्ज प्रहरीको सहयोगमा बुढालाई समातिएको हो।
प्रहरीका अनुसार उनी एक एकल महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा समातिएका हुन्। उनलाई नातामा हजुरआमा पर्ने महिलालाई गत भदौ २२ गते राति सुतिरहेका बेला बलात्कार गरेको आरोप लागेको हो।
उनी जाँड खाएर एकल महिलाको घरमा पसेको प्रहरीको दाबी छ। त्यसपछि उनकै घरका सदस्यसमेत आएर आफूमाथि कुटपिट पनि गरेको महिलाको भनाई छ।
कुटपिटबाट आफू घाइते भएपछि ३ दिनपछि मात्रै होस आएको महिलाको दाबी छ। कुटपिटबाट उनको शरीरमा निलडाम परेका छन्।
यता जिप्रका बाजुराले पनि उक्त विषयमा उजुरी प्राप्त भइसकेको भन्दै आरोपितलाई पक्राउ गरेर जिल्ला ल्याउन लागेको जनाएको छ। यस्तै घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ।
सम्बन्धित समाचार:
बाजुरामा आफन्तबाटै एकल महिलामाथि ‘कुकर्म’, पछि कुटपिट