कृष्णप्रसाद जैसी सुदूरपश्चिममा स्थापित नाम हो। एमाले भित्र त उनी परिचित थिए नै तर २०५८ सालमा अछाम सदरमुकाम माओवादीले आक्रमण गरेर ध्वस्त पारेपछि, उनले जिल्ला विकास समितिको सभापतिका हैसियतले थालेको पुर्ननिर्माणको कामले अरु क्षेत्रले पनि उनलाई चिन्ने मौका पायो।
शिक्षण पेशा छोडेर राजनीतिमा आएका जैसीसंग पार्टीको गाउँ कमिटी हुँदै पार्टीको जिल्ला कमिटी उपसचिव र दुईपटक सचिव भएको अनुभव छ। उनले अहिलेका एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीसंग तत्कालिन प्ररायुसंघ (हालको युवा संघ नेपाल) केन्द्रीय कमिटीमा बसेर काम गरेका छन्। ओली त्यतिवेला प्ररायुसंघको केन्द्रीय अध्यक्ष थिए।
२०५४ सालको स्थानीय चुनावमा जिविस सभापति भएका जैसी बीचमा स्थानीय तहको चुनाव नभएकोले १६ वर्षसम्म जिविस महासंघको प्रवक्ता र स्थानीय निकायसम्वद्ध एशिया प्यासेभिकको सहअध्यक्ष भए।
जैसी यसपटक एमालेको सुदूरपश्चिमको पहिलो अधिवेशनबाट प्रदेश अध्यक्षको दावेदार छन्। प्रस्तुत छ : हाल प्रदेश कमिटीमा रहेका नेता जैसीसंग प्रदेश अध्यक्षको उम्मेदवार हुनाका कारण लगायतका विषयमा पत्रकार प्रकाशविक्रम शाहले गरेको कुराकानीको सारसंक्षेप।
तपाई अध्यक्षको उम्मेदवार बन्ने चर्चा छ कसरी अघि बढिरहनु भएको छ ?
संविधान अनुसार मुलुक अघि बढोस त्यसका लागि हाम्रो पार्टी पनि ठिक तरिकाले अगाडि बढोस भन्ने हो। पार्टी प्रदेश कमिटीका बैठक बस्न गाह्रो छ, संरचना नै त्यस्तै छ। प्रदेशदेखि तलका कमिटीलाई व्यवस्थित गर्नका लागि मेरो आवश्यक्ता छ भनेर साथीहरुलाई भनिरहेको छु। म सित काम गर्ने समय र उर्जा दुईवटै कुरा छ, पार्टी राम्रो बनाउन सक्छु भन्ने विश्वास पनि छ त्यसैले मैले जिम्मेवारी पाउनुपर्छ भनेर लागिरहेको छु।
तपाईको अध्यक्षको उम्मेदवारी घोषणा अलि हतार भयो भनिन्छ नि ?
पार्टीले प्रदेश अधिवेशनको मिति तोकेपछि म अध्यक्ष उठ्छु भन्दै आएको छु। पार्टीलाई अझ माथि उठाउन सक्छु भनेर अध्यक्षको उम्मेदवार समयमै हुनु ठिक हो नि। महाधिवेशनपछि केन्द्रीय कमिटीमा लैजाने पनि भनिएको थियो त्यो नभएपछि काम गर्ने ठाउँ त मैले बनाउनु पर्यो नि। मैले व्यक्तीगत लाभका लागि अध्यक्ष हुन गएको होइन, पार्टी बनाउन खोजेको हो।
जनप्रतिनिधिहरु पार्टीको कार्यकारी पदमा हुनुहुन्न भन्ने नीति आएको छ यसलाई कसरी लिनु भएको छ ?
जनप्रतिनिधिले पार्टी काम गर्न गाह्रो हुन्छ। त्यसैले यो नीति ठिक छ। पहिले पनि पार्टीले यस्तो काम गरिसकेको छ। जस्तै म २०५४ मा जिल्ला विकास समितिको सभापति हुँदा पार्टी सचिव हुँ छाडेको थिए। २०५१ सालमा प्रतिनिधि सभा सदस्यहरुकाहरुले पनि पार्टी प्रमुखको जिम्मेवारी छोडेका थिए।
उम्मेदवारका रुपमा प्रस्तुत भइसकेपछि तपाईमा पक्षमा कस्तो माहोल पाउनु भएको छ ?
मैले पार्टी अध्यक्ष केपी ओली, उपाध्यक्षहरु, महासचिव शंकर पोख्रेल, उपमहासचिवहरु र हाम्रो प्रदेशको इन्चार्जदेखि तलका साथीहरुसंग पनि आफ्नो उम्मेदवारीका बारेमा बताए। नेताले तपाई क्षमता भएको, चुनौतीको सामना गर्न सक्ने मान्छे हो भन्नुभएको छ। कार्यकर्ताले पनि तपाई अनुभवी हो, क्षमता छ, तपाईका समकक्षी र जुनीयर पनि माथिल्लो कमिटीमा छन् नेतृत्व लिनुपर्छ भनेका छन्। त्यसले गर्दा मेरो माहोल राम्रो छ। अझै पनि मेहनत गरिरहेको छु।
त्यसो भए पार्टी केन्द्रबाट प्रदेश अध्यक्षका लागि ग्रिनसिग्नल पाउनु भएको हो ? यता त तपाई बाहेकलाई केन्द्रले आधिकारिक उम्मेदवार बनाउने चर्चा भइरहेको छ ?
नेताहरुले मलाई तपाई काम गर्न सक्ने मान्छे हो भन्नु भएको छ। उहाँहरुसित म अध्यक्ष हुन्छु भनेर अरु साथीहरु जानु स्वभाविक हो। त्यसैले कसैले म आधिकारिक हो भन्न सक्छन, त्यस्तो प्रयास हुनसक्छ तर नेताहरुले यो आधिकारिक यो अनाधिकारिक भन्नुहुन्छ भन्ने लाग्दैन। मेरो पनि अध्यक्ष सहितका नेताहरुसंग दुई पटक कुरा भइसकेको छ। बरु मलाई संगठन छ, जनसंगठन छन्, सुवेच्छुक छन्, कार्यालय व्यवस्थित छन् , सबैतिरबाट प्रहार गर्दा पनि एमाले समानुपातिकमा पहिलो पार्टी भयो, तिमीले अलि मेहतन गर्दा पार्टी अझ उठ्छ भनेर नेताहरुले भन्नु भएको छ।
सहमतिको कुरा पनि आएको छ नि तपाईलाई सहमतिका लागि केन्द्रले पछाडि हट्नु पर्यो भन्दा के गर्नुहुन्छ ?
म सहमतिका लागि बाधक होइन। तर तर्क र तथ्यले म हुन नहुने अर्को हुनु पर्ने कारण चै भन्नुपर्छ। अहिले जिम्मेवारी नभएर सबैभन्दा फुर्सदमा रहेको मै हो त्यसैले मेरो नाममा सहमति हुनुपर्छ। मैले पार्टीमा काम गरेको अनुभव नि छ। म भन्दा अर्को कसरी योग्य भयो त्यो पनि प्रस्ट भन्न सक्नु पर्ने हुन्छ। सहमितका लागि बलिदान र योगदान पनि हेर्नुपर्छ।
अध्यक्ष हुनका लागि तपाईका ऐजेण्डा के हुन ?
जवजको सिद्धान्त अनुसार पार्टी संरचना बनाएर संचालन गर्नुपर्छ। मुलुक बनाउने सुखी नेपाली, समृद्ध नेपालको लक्ष्य पूरा गर्न सादा जीवन विताएर, कम खर्च गरेर, भ्रष्टाचार रोक्नका लागि पार्टी परिचालन गर्नुपर्छ । प्रदेशमा पार्टी बनाउन समय दिन सक्ने, पार्टी एकतावद्ध बनाउने काम गर्नुपर्छ।
मिसन २०८४ मा स्थानीयदेखि प्रदेश र केन्द्रमा सरकार बनाउनका लागि सुदूरपश्चिममा पार्टीलाई एक नम्बर बनाउन पहल गर्ने छु। प्रदेश कमिटीले मातहतका कमिटीलाई मात्र होइन केन्द्रलाई पनि काम गर्न सजिलो बनाउने वातावरण तय गर्नेछ। म अध्यक्ष हुँदा व्यक्ति हीतको होइन पार्टी हितको चिन्तन बोक्ने वातावरण बनाउने छु । मूल्यांकन प्रणाली व्यवस्थित भएको बनाइने छ । जसले पार्टी बलियो बनाउन मद्धत पुग्नेछ।
एमालेको सदस्यता नविकरण गर्नेहरु घट्न थाले भन्ने छ, बरु नयाँ पार्टीमा आकर्षण बढेको छ, तपाई अध्यक्ष भएपछि यो अवस्था कसरी सुधार हुन्छ ?
सैद्धान्तिक ज्ञान, कम्यूनिष्ट आचरण ठिक हुनु पर्यो। त्यसले अरुलाई प्रभाव पार्नु पर्यो त्यसले सदस्य संख्या बढ्छ। आफूले नगर्ने अरुले सदस्य बनाइ दिने। जिम्मेवारी पनि नदिइने, त्यसले गर्दा सदस्यता नविकरण भयो भएन मतलव हुँदैन। संगठन परिचालन हुनु पर्ने। सदस्यहरुले के का लागि पार्टी भन्ने बुझ्न सक्नुपर्छ। कर्तव्यवोध हुनु पर्यो । लाभका निम्ति मात्र बुझ्नु भएन। नयाँ पुस्ताले नयाँ खोज्छन् रहर गर्छन कहिलेसम्म टिक्छन् भन्ने हो । हामी नयाँ पार्टी जस्तो सिद्धान्तहीन हुन सक्दैनौ। संगठन परिचाल हुन सक्नु पर्यो। आन्दोलनका लागि समाजबादका लागि हो सदस्यता भन्ने बुझ्नुपर्छ। हामी इमान्दार भएर लागेर युवाको चाहना बुझेर जानुपर्छ।
केन्द्रीय कमिटीमा रहेकाहरु तल आउनु भन्दा माथि नै काम गर्नु पर्यो । तलतल अरुले काम गर्न पाउनुपर्छ। पार्टी सबै मिलेर बनाउने हो, जिम्मेवारी सबैले पाउदा पार्टीमा आकर्षण बढ्छ । त्यसतर्फ म ध्यान दिनेछु।
तपाईका समकक्षी केन्द्रकै माथिल्लो कमिटीमा पुगेका छन्, तपाई भन्दा पछिका पनि केन्द्रमा पुगिसके त्यो अवस्था देख्दा किन पछाडि परे भन्ने लाग्छ ?
म माथिल्लो कमिटीमा नपुगेमा कुनै तनाव छैन। जसले जिम्मेवारी लिएको छ उसले काम गरेपछि म भन्दा सिनियर होस कि जुनियर राम्रो लाग्छ। सँधै हामीले गर्नुपर्छ भन्ने पनि हुँदैन। तर काम गरेन भने तनाव हुन्छ। आफू जिम्मेवारी नहुँदा त्यो काम गर्न पनि सकिन्न।
अन्त्यमा तपाईलाई लाग्ने आरोप पार्टी भित्रका धारमा तपाई अस्थिर हुनुभयो भन्ने छ नि, यो कुरालाई कसरी लिनुहुन्छ ?
त्यो कुरालाई म सामान्यरुपमा लिन्छु। पार्टीका महाधिवेशन वरपर त्यस्तो हुन्छ तर पछि हामी एकाकार भएर अघि बढेका छौ। म जैले पार्टी जोगाउन लागेको छु , मुल कुरा कठिन अवस्थामा पार्टी जोगाउन लाग्यो कि लागेन भन्ने हो। २०५४ मा पनि पार्टी भनेकै एमाले रहन्छ भनेर एमाले बचाउन लागे पछिल्लोपटक पनि विभाजनको विरुद्धमा लागे।
हो नवौ महाधिवेशनमा कमरेड भीमबहादुर रावललाई उपाध्यक्ष जिताउन लागियो त्यसैले पनि कतिपयले त्यस्तो टिप्पणी गर्छन। रावललाई उपाध्यक्ष जिताएर सुदूरपश्चिमको प्रतिनिधित्व केन्द्रीय पदाधिकारीमा गराउनु ठिक थियो। आठौमा उहाँ उपाध्यक्षमा हार्नु भएकोले जिताउनुपर्छ भन्ने लागेको हो। महाधिवेशनका बेला पार्टी भित्र हुने धारका कुरा स्वभाविक हुन्। यस्ता कुरा महाधिवेशनका बेला मात्र हुनुपर्छ, सँधै हुनुहुन्न । मसंग जोडिएका यी, यस्ता कुरा अध्यक्ष केपी ओलीसित पनि गरेको छु।