धनगढीः ५५ वर्षीय कमलप्रसाद तिमिल्सेना नेकपा (एमाले) सुदूरपश्चिम कमिटीको उपाध्यक्ष हुन्। २०४४ सालदेखि अनेरास्ववियु, तत्कालिन प्रजातान्त्रिक युवा संघको केन्द्रीय सचिवालय, एमालेको जिल्ला कमिटी सदस्य (२०४७), २०६६ मा एमालेको जिल्ला अध्यक्ष, अञ्चल कमिटी सदस्य हुँदै तिमिल्सेना अहिले प्रदेश कमिटीका उपाध्यक्ष छन्।
तिमिल्सेनाले आफू प्रदेश कमिटीको बहालवाला उपाध्यक्ष भएकोले अध्यक्षको स्वभाविकरुपमा दावेदार भएको बताएका छन्। प्रस्तुत छ नेता तिमिल्सेनासँग असोज २१ र २२ गते हुने प्रदेश अधिवेशनका सन्दर्भमा गरिएको कुराकानीको सारसंक्षेप।
तपाई एमालेको पहिलो प्रदेश अधिवेशनको अध्यक्षको उम्मेदवार हुने चर्चा छ ? के के छन् तपाईका ऐजेण्डा ?
म उपाध्यक्ष भएर प्रदेशको कामको अनुभव समेत सम्हालिसकेकोले स्वभाविकरुपमा प्रदेश अध्यक्षको दावेदार हो। पार्टीलाई अझ एकतावद्ध बनाउन, पार्टीमा समन्वयकारी भूमिका खेल्न, संविधानको कार्यान्वयन गर्न, पार्टी भित्र दक्षिणपन्थी अवसरबाद, संगनात्मक अराजकता हुर्किन नदिनका लागि मेरो उम्मेदवारी हो।
सबै खालका घेरोवन्दी तोडेर ०८४ को चुनावमा पार्टीलाई तीनवटै पहिलो बनाउने मुख्य लक्ष्य छ। यस्तैगरेर सुदूरपश्चिमको विकासका लागि यहाँको जलस्रोत, पर्यटन, जडीबुटी र खाद्यान्नको सदुपयोग गरेर यहाँको गरिबी अन्त्य गर्ने, अन्याय अत्याचारको अन्त्य गर्ने मेरा चुनावी ऐजेण्डा हुन्।
तपाईको उम्मेदवारी घोषणा किन ढिलो आएको हो ?
उपयुक्त समय नै अहिले हो नि, प्रतिनिधि छानिदै छन्। आन्तरिक चुनावमा उम्मेदवारी घोषणा गर्न किन हतार गर्नु र ? सबैसित सरसल्लाह गरेर मेरो उम्मेदवारी तय गरेको छु।
सरसल्लाह नेताहरुसित गर्नुभयो कि कार्यकर्तासंग ?
मैले मतदाता साथीहरु, यस क्षेत्रका केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरु र केन्द्रका पदाधिकारीसंग छलफल गरेर उम्मेदवारी तय गरेको हो।
भनेपछि संस्थान पक्षको उम्मेदवार हो ?
म प्रदेशको उपाध्यक्ष हो संस्थापन नै हु। त्यसैमा पार्टी केन्द्र पनि मेरो पक्षमा हुन्छ।
प्रदेश अध्यक्षमा सहमति हुन्छ भन्ने पनि कुरा आएको छ नि ? तपाई धारणा के हो ?
सहमतिको प्रयत्न भइरहेको छ। त्यो प्रयासलाई तार्किक टुंगोमा पुगाउनुपर्छ। म सहमतिको बाधक होइन। अहिलेको कमिटीको उपाध्यक्ष पनि भएकोले मेरो नाममा सहमति हुन्छ भन्नेमा विश्वास छ।
अछामकै पुराना नेता कृष्णप्रसाद जैसीले पनि अध्यक्षको उम्मेदवार बन्ने घोषणा गर्नु भएको छ। एउटै जिल्लाका दुई जना अध्यक्षमा भिड्नुहुन्छ त ?
कृष्णप्रसाद जैसीलाई उपयुक्त जिम्मेवारी दिनुपर्छ भन्ने मेरो मान्यता हो। उहाँले मलाई सहयोग गर्नुहुन्छ भन्ने लाग्छ।
उहाँले तपाईलाई छोड्नु भएन भने चुनावमा भिड्नुहुन्छ त ?
उहाँ मलाई छोड्नुहुन्छ। उहाँलाई उपयुक्त जिम्मेवारी दिन हामी लाग्छौ। छोड्नु भएन भने लोकतान्त्रिक पद्धतिमा जान कठिनाई मान्नुहुन्न।