धनगढी: धनगढीको केजी अस्पतालले शल्यक्रियामा लापरबाही गर्ने गरेको विषय सार्वजनिक भएको छ। सो अस्पतालले शल्यक्रिया गर्दा गम्भीर लापरबाही गर्ने गरेको पाइएको हो।
स्रोतका अनुसार अस्पतालमा शल्यक्रियाका लागि एनिस्थेसियोलोजिस्ट अनिवार्य हुन्छ। तर, केजीले भने एनिस्थेसियोलोजिस्ट बिना नै बिरामीको शल्यक्रिया गर्ने गरेको पाइएको हो।
शल्यक्रिया गर्दा बिरामीलाई बेहोस पार्न एनेस्थेसियोलोजिस्ट आवश्यक पर्ने भएपनि अस्पतालले टेक्निसियनबाटै काम चलाउने गरेको खुलेको छ।
धनगढी उपमहानगरपालिकाले प्रदान गरेको आसयपत्रका आधारमा चलेको १५ शय्याको यो अस्पतालमा सरकारले अनुगमन नहुँदा यस्तो लापरबाही भएको बताइन्छ। सो अस्पतालमा अहिले हाडजोर्नी, सुत्केरीसहित अन्य जटिल खालका शल्यक्रिया हुने गरेका छन्। तर सो क्रममा पनि बेहोस पार्ने चिकित्सक भने अस्पतालमा छैनन्।
अस्पतालमा ल्याप्रोस्कोपी सर्जन डाक्टर दीपक सिंह र स्त्री तथा प्रसूति रोग चिकित्सक डाक्टर सोनी कठायतले बिरामीको शल्यक्रिया गर्ने गरेका छन्। तर, अस्पतालले शल्यक्रियाका लागि बिरामीलाई तयार पार्ने विशेषज्ञ चिकित्सक नियुक्त नगरेर टेक्निसियनबाटै बेहोस पार्ने गरेको स्रोतको दाबी छ।
हालै असोज ६ गते मात्र बेहोस पार्ने विशेषज्ञ चिकित्सक बिना अस्पतालमा एक गर्भवती महिलाको शल्यक्रिया गरिँदा ती महिलाको पाठेघर झिकेर फाल्नु परेको थियो। तर, सो घटनालाई अस्पतालले भने स्वभाविक भएको भन्दै अपवाह नफैलाउनुपर्ने प्रतिक्रिया दिएको थियो।
उता एनेस्थेसियोलोजिस्ट नभएको विषयमा निर्देशक डाक्टर दीपक सिंहसँग बुझ्दा उनले भने अस्पतालमा २ जना एकजना पार्ट टाइम र एकजना फूल टाइमर डाक्टर रहेको दाबी गरे। तर उनले डाक्टरको नाम भन्न आग्रह गर्दा खुलाएनन्।