डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिका–१ मा रहेको भुवनेश्वरी माध्यामिक विद्यालय हर्तोलाका प्रधानाध्यापक वासुदेव बोगटीले विद्यार्थीलाई कुटेर घाइते बनाएका छन्।
छात्रा विद्यार्थीमाथि अश्लील शव्द प्रयोग गरेको विषयमा प्रअ बोगटीले मंगलबार कक्षा १० मा अध्ययनरत १५ वर्षीय छात्र ललित बमलाई कुटपिट गरि घाइते बनाएका हुन्।
प्रअको कुटपीटबाट बमको मुखमा चोट लागेको छ। घाइते बमको डडेल्धुरामा उपचार पश्चात घर पठाइको थियो।
पीडित छात्र बमका आफन्तका अनुसार डडेल्धुरामा सीटीस्क्यान नभएपछि सामान्य उपचार पश्चात् घर पठाइएको थियो। घर पुर्याएका बम विद्यालय गएका थिए। तर, असह्य पीडाले बस्न नसकेपछि उनलाई धनगढी लगिएको छ।
केटाहरूबीच आपसी अश्लील कुरा हुँदै गर्दा प्रअ बोगटीको छोरी त्यहीँबाट हिँड्दै गरेको पीडित बमले बताए। कक्षा कोठामा प्रअको छोरीले गाली गरेपछि अरू छात्र विद्यार्थीले पनि गरेको तर, प्रअले आफूलाई मात्रै कुटेको उनको आरोप छ।
उनलाई प्रअले लठ्ठीले कुटेका थिए। प्रअको कुटपीटबाट बम घाइते भएपछि उनका आफ्न्तले कारबाहीको माग गरेका छन्। प्रअले नै विद्यार्थी कुटेपछि भुवनेश्वरी माविका विद्यार्थी आन्दोलित भएका छन्।
उनीहरूले पनि विद्यार्थीलाई घाइते बनाउने प्रअले माफी माग्नु पर्ने बताइरहेका छन्। यस बारेमा प्रअ बोगटीलाई सोध्दा घटना सामान्य भएको प्रतिक्रिया दिए।
‘छात्रा विद्यार्थीलाई अश्लील शव्द प्रयोग गरेको भनेर गुनासो आयो। सम्झाउँदा खेरी पनि नमानेपछि हान्दा नाकमा सामान्य चोट लागेको थियो,’ उनले भने, ‘त्यसपछि आफ्नै खर्चमा गाडी बुकिङ गरेर डडेल्धुरा अस्पतालमा उपचार गर्न पठाएको हुँ।’
संविधान भन्छ : बालबालिकालाई यातना दिन मिल्दैन
नेपालको संविधानको धारा ३९ मा बालबालिकासम्बन्धी मौलिक हकको व्यवस्था छ। यस धाराको उपधारा (३) मा प्रत्येक बालबालिकालाई प्रारम्भिक बाल विकास तथा बाल सहभागिताको हक हुने व्यवस्था छ।
त्यस्तै, उपधारा (७) मा उल्लेख छ, ‘कुनै पनि बालबालिकालाई घर,विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक,मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन।’
उपधारा (४),(५),(६) र (७) विपरीतका कार्य कानुनबमोजिम दण्डनीय हुनेछन् र त्यस्तो कार्यबाट पीडित बालबालिकालाई पीडकबाट कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुने व्यवस्था छ।