धनगढी : प्रभात मिडिया एण्ड ईभेन्ट प्रा.लि.ले हरेक वर्ष आयोजना गर्दै आएको नृत्य र गायन विधाको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यक्रम एसईई आईडलको तेस्रो संस्कारण सुरू भएकाे छ ।
धनगढीकाे बोराडाँडीमा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयमा औपचारिक कार्यक्रमकाबीच अडिसन सुरू भएकाे हाे । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टिएनजोशीले कला र संस्कृतिको प्रबर्द्धनका लागि यस्ता प्रकारका कार्यक्रम आवश्यक रहेको बताए ।
कार्यक्रममा सुदूरपश्चिम कला प्रतिष्ठानका अध्यक्ष अम्बिका आचार्य, सुदूरपश्चिम एकेडेमीका क्याम्पस प्रमुख योगराज उपाध्याय र कैलाली मोडेल स्कूलका प्राचार्य तपेन्द्र सिंह लगायतले मन्तव्य राखेका थिए । अडिसनमा आयोजक विद्यालयका प्रधानाध्यापक लोकराज पन्तले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रमकाे सभापतित्व प्रभात मिडियाका अध्यक्ष प्रकाशबहादुर छेडालले गरेका थिए भने कार्यक्रम संचालन एसईई आईडल सिजन तीन का संयोजक गुणाकर पनेरु र अनिता धामीले गरेका थिए । अक्सफोर्ड स्कुलमै भएकाे पहिलो अडिसनमा नृत्यमा ४ र गायनमा ३ गरि ७ जना प्रतिस्पर्धीले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
शुक्रबार नै धनगढीकाे विशालनगरको कोविदा ईन्टरनेशनल स्कूलमा सम्पन्न दोस्रो अडिसनमा २ नृत्य र २ गायन गरि ४ प्रतिस्पर्धी सहभागी भएका थिए । सुदूरपश्चिमका सबै जिल्लाका २५ बढी स्थानमा आयोजना गरिने अडिसनमा यस वर्ष एसईई दिने विद्यार्थीहरुले सहभागी हुन पाउनेछन् ।
यस वर्ष पनि गत बर्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउनेछन् । नृत्य र गायन विधाका उत्कृष्ट ३०-३० जना प्रतिस्पर्धिहरुले २०८० बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५-१५ जना प्रतिस्पर्धीहरुले २०८० असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् ।
फाईनलबाट दुवै विधामा १-१ जना विजेता र १-१ जना उपविजेता बन्नेछन् । दुवै विधाका विजेता र उप विजेताले क्रमश: ५०-५० हजार र २५-२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११-१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् ।