धनगढी : सल्यान घर भई हाल धनगढीमा रहेकी रचना पौडेल एचआइभी सङ्क्रमित हुन् । सन् २००६ मा समाजमा खुलेकी उनी अहिले निरन्तर औषधी सेवन गरिरहेकी छिन् ।
सङ्क्रमितको हक हितको लागि राष्ट्रिय एचआइभी एड्स महासङ्घमा रहेर समेत वकालत गरिरहेकी उनी विगत सम्झिँदै भन्छिन्, ‘सुरुवाती चरणमा एड्स लागेको छ भनेर खुल्नै समस्या थियो । त्यो समयमा मैले आट गरेकी थिएँ । त्यतिखेर सबैको ध्यान एड्स रोग खोज तथा रोकथाममा थियो । मैले त्यतिखेर सबैको सहयोग पाएँ । विभिन्न सङ्घ संस्थामा रहेर काम पनि गरें । गोदावरी, मालाखेती लगायतका क्षेत्रका सङ्क्रमितको हक हितका लागि काम गरे । बिस्तारै सङ्घ संस्थाहरूको कार्य समय सकियो । रोजगारीका श्रोत खोसिँदा अहिले दैनिकी चलाउन समस्या भइरहेको छ ।’
सङ्घ–संस्थाको मुख ताकेर बस्नु भन्दा पनि सरकारी तहबाटै सिपमूलक तालिमसँगै रोजगारीको ग्यारेन्टी हुनु पर्ने उनको भनाई छ ।
गोदावरी नगरपालिका मालाखेतीकी करुणा विकको पिडा पनि उस्तै छ । रोजगारीको श्रोत नहुँदा छाक टार्न पनि मुस्किल भइरहेको छ । ‘सरकारबाट पाइने निःशुल्क औषधीले मात्रै पुग्दैन हामी सङ्क्रमितहरूका लागि प्रोटिन युक्त खाना अति आवश्यक हो तर दैनिक छाक टार्नै मुस्किल हुने हामीले कहाँ पाउनु प्रोटिन’ उनले भनिन्, ‘सरकारबाट सुविधा नपाएका हैनौँ उपचार पाइरहेका छौँ । बिमा भएको छ । तर हामीलाई यतिले मात्रै पुग्दैन अहिले सम्म त बाँच्यौ अव कसरी बाँच्ने ? हाम्रा लागि सरकारले छुट्टै बजेट व्यवस्थापन गर्नुप¥यो ।’
रचना र करुणा त प्रतिनिधि पात्र मात्र हुन् । आयस्रोत नहुँदा एचआइभी एड्स सङ्क्रमितहरू प्रभावित वनेका छन् ।
सङ्क्रमित र सङ्क्रमितका परिवारलाई गरिबी निवारणमुखी कार्यक्रम सञ्चालन गर्न, रोजगारमूलक सिप प्रदान गर्न, सङ्घ, प्रदेश, स्थानीय तहले उद्यमशील हुने तालिम, उद्यमका लागि आर्थिक तथा प्राविधिक अनुदान प्रदान गर्न र अनुगमन कार्य प्रभावकारी बनाउन उनीहरूले माग गरेका छन् ।
खुल्न छाडे सङ्क्रमित, सङ्क्रमण फैलिने डर
विगतको तुलनामा नयाँ सङ्क्रमित खुल्ने क्रम घटेको स्वयम् सङ्क्रमितहरू नै बताउँछन् । सङ्क्रमण भयावह वनेको समयमा राज्य, विभिन्न सङ्घ–संस्था तथा निकायको ध्यान एड्समै भएका बेला राज्यबाट सेवा सुविधा पाउने आसले सङ्क्रमित खुल्न थालेका थिए । तर पछिल्लो समय राज्यले निःशुल्क औषधी र बिमा बाहेक अन्य सुविधा नदिएपछि सङ्क्रमितहरू रोग लुकाइरहेका छन् । ‘एचआइभी सङ्क्रमितहरूमाथि हुने विभेद अझै हटेको छैन । विभेदको शैली फेरिएको छ । हामी सङ्क्रमितहरूले काम पाउनै मुस्किल छ । केही साथीहरूलाई विभिन्न बहाना बनाउँदै कामबाटै निकालिएको अवस्था छ । सङ्क्रमित हौँ भनेर खुलेको अवस्थामा तिरस्कार र पिडादायी जीवन निर्वाह गर्नुपर्ने अवस्था रहेकाले सङ्क्रमितहरू खुल्न छोडेको,’ अर्की सङ्क्रमित पुष्पा बुढाले भनिन् ।
पछिल्लो समय सङ्क्रमितहरू नखुल्ने क्रम सँगै सङ्क्रमणको जोखिम फैलिने चिन्ता समेत बढ्दै गएको छ । ‘सङ्क्रमितहरू गाउँघरमै छन् । भुसको आगोसरी सङ्क्रमण फैलिने जोखिम छ । एचआइभीको परीक्षण गाउँ–गाउँमै हुन जरुरी भइसक्यो,‘ अछाम कमलबजारकी अम्बिका थापाले भनिन्, ‘रोजगारीको ग्यारेन्टी नभए सम्म सङ्क्रमितहरू खुलेर आउने वातावरण छैन ।’
यद्यपि नयाँ सङ्क्रमित फेला पर्ने क्रम भने रोकिएको छैन । पछिल्लो तीन आर्थिक वर्ष यता अछाममा मात्रै १ सय ५७ नयाँ सङ्क्रमित फेला परेका छन् भने सेती प्रादेशिक अस्पतालमा नयाँ सङ्क्रमितको संख्या २ सय ४१ छ ।
आयस्रोत नहुँदा यौन धन्दामा
एचआइभी एड्स सङ्क्रमितहरू आयस्रोत नहुँदा दैनिकी चलाउन पुनः यौन क्रियाकलापको पेसामा फर्किरहेका छन् । सरकारले निःशुल्क दिने औषधी लिन पनि आफ्नै खर्चमा एआरटी सेन्टर सम्म पुग्नु पर्ने बाध्यता उनीहरूको छ ।
‘दैनिकी चलाउन सकिरहेका छैनौँ । औषधी लिन पनि आफ्नै भाडामा जानुपर्छ एकै दिनमा घर फर्किन सक्ने अवस्था हुँदैन, कहिले त होटेलमा बास बस्नु पर्दा ३ हजार सम्म खर्च हुने गर्दछ,’ कैलाली ओलानीकी सावित्री विकले भनिन्, ‘राम्रो काम गर्न हातमा सिप छैन । सजिलै काम पनि पाइँदैन, हामीले के खाने छोरा–छोरीलाई के खुवाउने ? चरम समस्यामा छौँ । बाँच्नको हामीले पुरानै पेसामा फर्किनुको विकल्प छैन ।’
छाक टार्न र पोसिलो खाना खानको लागि उनीहरू घर तथा विभिन्न होटेलमा यौन क्रियाकलापमा संलग्न हुन थालेका छन् । ‘अन्तिम विकल्प यही वनेको छ । नत्र कसले दिन्छ हामीलाई पैसा अनि कसरी खर्च चलाउनु हामीले,’ धनगढीकी रिता तामाङले भनिन्, ’राम्रो काम नपाउँदा धेरै जना यौनकर्मीमा फर्किसकेका छन् । यसरी त सङ्क्रमण भयावह बन्छ सरकारको वेलैमा ध्यान जावस् ।’
उनका अनुसार पुन यौन कर्ममा फर्किएकाहरूले एक दिनमा १ हजार देखि १५ हजार सम्म कमाउने गरेका छन् । ‘पोषण खान नपाएर मर्नु भन्दा मन लागेको सबै खाएर मर्न बेस भनेर सङ्क्रमितहरू धन्दामा लागिरहेका छन् ।’
एक वर्षमै ५१ सङ्क्रमितको मृत्यु, ७६ जना थपिए
सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक वर्षको अवधिमा थप ७६ जना नयाँ सङ्क्रमित फेला परेका छन् । एनएनएसडव्लुएको सिटी क्लिनिकमा ३६ हजार ९ सय २५ जनामा भएको परीक्षणमा ३३ जनामा सङ्क्रमण, एनएनएसडव्लुए कञ्चनपुरमा २१ हजार २ सय १७ जनामा परीक्षण गर्दा १५ जना, सुदूरपश्चिम समाजले ४ सय २७ जनामा परीक्षण गर्दा १६ जना र सहयात्रा नेपालले ३ सय २३ जनामा परीक्षण गर्दा १२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
एक वर्षकै अवधिमा औषधी सेवन गरिरहेका ५१ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरूमा सबैभन्दा धेरै सेती प्रादेशिक अस्पतालमा १२ जना, टिकापुर अस्पतालमा ८ जना, डोटीमा ११, कञ्चनपुरमा ६, अछाममा ५ जना, बैतडीमा ३, बझाङमा २ जना र डडेल्धुरा, बाजुरा, दार्चुला र केशरपुरमा एक⁄एक सङ्क्रमितको मृत्यु भएको छ ।
सुदूरपश्चिममा विभिन्न क्षेत्रमा गरी ३ हजार ३६ जनाले नियमित औषधी सेवन गरिरहेका छन् । जसमा सबै भन्दा धेरै सेती प्रादेशिक अस्पतालमा १ हजार ११, टिकापुर अस्पतालमा ५ सय ६२ र सबै भन्दा कम दार्चुलामा ४२ जना छन् ।
भारतबाट जोखिम, ३ सय १९ सङ्क्रमित सम्पर्क विहीन
एच.आइ.भी. एड्सबाट सबैभन्दा बढी जोखिममा भारतमा श्रम गर्न जाने व्यक्ति पर्ने गरेका छन् । श्रम गरेर फर्केकाको श्रीमती, उनीहरूका परिवारको सदस्य, यौन कार्यलाई पेसाको रूपमा संलग्न व्यक्ति बढी जोखिममा परेको विभिन्न तथ्याङ्कले देखाएको छ । सङ्क्रमित व्यक्तिले सामान्य व्यक्तिसँग विना जानकारी विवाह गरेका कारण पनि सङ्क्रमण भएको पाइएको छ । सेती प्रादेशिक अस्पतालबाट मात्रै १ हजार जना नियमित औषधी सेवन गरिरहेका छन् । त्यसमा २६ जना सङ्क्रमित भारतीय नागरिक पनि छन् ।
सुदूरपश्चिमका विभिन्न ए.आर.टी.सेन्टरहरूमा उपचार गराइरहेका ३ सय १९ जना सङ्क्रमित सम्पर्क विहीन वनेका छन् । जसमा सबै भन्दा बढी सेती प्रादेशिक अस्पतालबाट १ सय ९ जना, टिकापुरबाट ६६ जना, महाकाली प्रादेशिक अस्पतालबाट ४६ जना, डोटीबाट ३७ जना, अछाम अस्पतालबाट २६, कमलबजार अछामबाट ८, बयलपाटा अस्पताल अछामबाट ७, बझाङ ८, बाजुरा ४, बैतडी ३, दोधारा कञ्चनपुर ३, जोगबुढा डडेल्धुरा १, मालाखेती कैलाली २ र चौरपाटी अछाम केन्द्रबाट १ जना सङ्क्रमित सम्पर्क विहीन छन् ।
नागरिकता नहुँदा झन् समस्या
अछाम बयलपाटा ए.आर.टी सेन्टरमा रहेकी ३० वर्षीया हर्सना आउजितको नागरिकता नहुँदा सहजै सेवा पाइरहेका छैनन् । सङ्क्रमितहरूका लािग सरकारले निःशुल्क स्वास्थ्य बिमा गरेको छ । तर उनको नागरिकता नहुँदा राज्यबाट पाइने अधिकांश सेवाबाट वञ्चित हुनु परेको छ । एचआइभीबाटै उनका श्रीमानको मृत्यु भइसकेको छ भने उनकी एक छोरी पनि सङ्क्रमित छन् ।
एचआइभी एड्स सङ्क्रमितहरूले भोगिरहेको अर्को समस्या नागरिकता नहुनु हो । मानव अधिकार आयोग सुदूरपश्चिम कार्यालयले गरेको पछिल्लो अनुगमनका क्रममा अधिकांश सङ्क्रमितहरूसँग नागरिकता नहुँदा चुनौती थपिएको छ ।
नागरिकता नहुनेहरुमा कसैको बुवाको मृत्यु भएको आमासँग नागरिकता नभएको, कसैको आफन्त नै कोही नभएको, श्रीमानको मृत्युपछि नागरिकता नबनेको, पहिलेको श्रीमानको मृत्यु दोस्रो बिहेबाट नागरिकता बनाउन नसकिएको, प्रतिलिपि लिन सिफारिस लग्दा पनि नपाएको समस्या छन् । ‘नागरिकता नहुँदा निकै समस्या भइरहेको छ । सरकारले दिने सेवा सुविधा लिन पाएका छैनन् । आम्दानीको श्रोत पनि नहुँदा धेरैले अकालमै ज्यान गुमाइरहेका छन्,’ सङ्क्रमित गोरख विकले भने, ‘नागरिकता नहुनेहरूको नागरिकता बनाउन सरकारले विलम्ब गर्नु हुँदैन ।’
सङ्क्रमितहरूले सरकारी तथा अस्पतालबाट आफूहरूले सहजै स्वास्थ्य उपचार सेवा नपाउने गरेको दाबी गरेका छन् । अन्य बिरामी र एचआइभी एड्स लागेका बिरामीहरूको उपचारमा चिकित्सकहरुले पनि विभेद गर्ने गरेको उनीहरूको गुनासो छ । ‘सेती प्रादेशिक अस्पतालले पनि हामीहरूको उपचार गर्न आनाकानी गर्ने गरेको छ । डाक्टरहरू हाम्रो शरीरको रगत जाँच गर्नै डराउने गर्दछन् यहाँ उपचार हुने रोगको लागि पनि अन्य अस्पतालमा रेफर गर्छन्,’ सङ्क्रमित गणेश अवस्थीले भने ।
सङ्क्रमितहरूलाई स्वास्थ्य बिमाबाट पाइने निःशुल्क औषधी पनि सरकारी अस्पतालमा फार्मेसीमा नपाइने गरेको उनीहरूको गुनासो छ । ‘५ सय भन्दा बढीको औषधी पाइँदैन फार्मेसीमा हामीले किनेर खानुपर्छ समस्यामा छौँ,’अत्तरियाकी कल्पना जोशीले भनिन् ।
सङ्क्रमितहरूले सामाजिक सुरक्षा भत्ता प्रदान गर्न,आवास विहीनलाई आवासको व्यवस्था मिलाउन,स्थानीय तहको वडा स्तरमा नै औषधिको व्यवस्था मिलाउन, भारतीय अस्पतालबाट औषधी सहजै प्राप्त गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।
यता सेती प्रादेशिक अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.शेरबहादुर कमर भने सङ्क्रमितहरूको उपचारमा कुनै कमी नरहेको जिकिर गर्छन् । ‘सबै भन्दा राम्रो उपचार एचआइभी एड्स सङ्क्रमितहरूले नै पाइरहेका छन् । हामीले उनीहरूका लागि छुट्टै ओपिडीको व्यवस्था गरेका छौँ । यहाँ पाइने सबै उपचार दिइरहेकाछौँ,’ उनले भने ।
मानव अधिकार आयोग सुदूरपश्चिम संयोजक हरि ज्ञवालीले पछिल्लो समय सङ्क्रमितहरूको अवस्थामा परिवर्तन आएको बताए । अनुगमनका क्रममा समाज र सङ्क्रमितबिच भेदभावको अवस्था हाल नरहेको, सङ्क्रमित परिवारहरूमा पनि भेदभाव नरहेको, सङ्क्रमितहरू सङ्गठित हुँदै गएको, स्वास्थ्य बिमा भएको, परियोजनाबाट मानव संशाधन एआरटी सेन्टरबाट उपलब्ध गराइएको र सङ्क्रमित विद्यार्थीको गुनासो शिक्षकले सम्बोधन गरेको पाइएको ज्ञवालीले बताए ।
(संक्रमित सबैको नाम परिवर्तन गरिएको छ।)