काठमाडौँ: इजरायलमा शनिबार भएको आतंकवादी हमलामा ७ जना नेपालीको मृत्यु भएको आशंका गरिएको छ। इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा गरी ७ जना नेपालीको मृत्यु भएको आशंका गरिएको हो।
गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलका पूर्वअध्यक्ष दीपक ओलीले घाइते भएका ७ जना नेपालीको मृत्यु भएको हुनसक्ने बताए। उनका अनुसार घटनामा थप केही नेपाली हताहतीको आशंका गरिए पनि अहिलेसम्म पुष्टि हुन सकेको छैन। मृत्यु भएका सबैलाई आतंककारी समूहको गोली लागेको थियो। कृषि फार्ममा कार्यरत नेपालीहरु बंकरतर्फ जाँदै गर्दा एकाएक गोली लागेको थियो । गोली लागे पनि उनीहरुले समयमा उपचार पाएका थिएनन् ।
नेपाली दूतावास इजरायलले पनि घाइते भएका १२ जना नेपाली अहिले आफूहरुको सम्पर्कमा नरहेको जनाएको छ । यद्यपि मृत्युबारे दूतावासले औपचारिक जानकारी नआएको भन्दै पुष्टि गरेको छैन ।
इजरायलमा हाल ४५०० नेपालीहरु केयरगिभरको रुपमा कार्यरत रहेका छन् । इजरायलमा हाल अध्ययन गरिरहेका २६५ जना नेपाली विद्यार्थीहरु इजरायल सरकारको लर्न एण्ड अर्न’ कार्यक्रम अर्न्तगत गएका थिए । यसमध्ये नेपालको कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदुरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए ।
यी मध्ये सुदुरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपालीहरु दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा अध्ययनरत रहेका र उनीहरु नै आक्रमणमा परेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए । मन्त्री साउदले आजै १२ जना नेपाली सम्पर्कमा नरहेको र केही हताहत भएको हुन सक्ने संसदलाई जानकारी गराएका थिए ।