धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि नेताहरूले सहमतिको प्रयास थालेका छन्।
उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा ओलीले सहमति गरेर नेतृत्व चयन गर्न भनेपछि नेताहरूले सहमतिको प्रयास थालेका हुन्।
पार्टी अध्यक्ष केपी शर्मा ओली सहमतिका आधारमा नेतृत्व चयन गर्न निर्देशन दिएर काठमाडौँ फर्किएपछि नेताहरु सहमतिको प्रयामा लागेका हुन् ।
ओली हिजो अधिवेशनको उद्घाटन गर्न धनगढी पुगेका थिए। ओलीले पार्टी महासचिव शंकर पोखरेललाई अधिवेशनको अभिभारा दिएर काठमाडौं फर्किएपछि पोखरेलले सहमतिको वातावरण बनाउन नेताहरुसँग छलफल गरिरहेका छन् ।
अध्यक्षमा आकांक्षा राखेका कमल तिमिल्सिना, कृष्णप्रसाद जैशी र वचनबहादुर सिंहलाई सँगै राखेर छलफल भइरहेको छ।
तीन जना आकांक्षी मध्ये एक जनालाई केन्द्रीय कमिटीमा पठाउने र दुई जनालाई प्रदेश कमिटीको पदाधिकारी हुने गरी व्यवस्थापन गर्न सकिने विकल्पमा छलफल चलिरहेको एक नेताले जानकारी दिएका छन्।
८ बजेदेखि बन्द सत्र हुने भनेपनि बन्द सत्र थाती राखेर भएपनि सहमतिको प्रयास भइरहेको हो।