धनगढी : एसीसी १९ वर्षमुनिकाे प्रिमियर कपमा इरानलाई हराउँदै नेपालले विजयी शुरुवात गरेको छ । नेपालले इरानलाई २ सय ७४ रनको फराकिलो अन्तरले हरायो ।
जितका लागि नेपालले दिएको ३ सय ५४ रनको लक्ष्य पछ्याएको इरान ३० ओभर ५ बलमा ७९ रनमा अलआउट भयो । उसका आमेर खोर्सन्दले सर्वाधिक ३७ रन बनाए । अरू खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका दिपेश कँडेल र सुवास भण्डारीले समान ३/३ विकेट लिए । यस्तै हेमन्त धामी र आकाश चन्दले समान २/२ विकेट लिए ।
त्यसअघि मलेसियाको बाङ्गीमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४० ओभर १ बलमा ३ सय ५३ रनमा अलआउट भएको थियो । नेपालका कप्तान देव खनालले शतक बनाए । उनी ६० बलमा १०० रन बनाएर आउट भए ।
देव नेपालबाट १९ वर्षमुनिकाे क्रिकेटमा दुई शतक हान्ने पहिलो नेपाली खेलाडीसमेत बनेका छन् । यस्तै दीपकप्रसाद डुम्रेले ६९ तथा दीपक बोहोराले ६५ रन जोडे । इरानका सलमान नियाजमन्द र दद्राहमन रइसीले समान ३/३ विकेट लिए ।
मलेसियामा आज बिहीवारदेखि शुरु भएको प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोली सहभागी छन् । १६ टोलीलाई ४ वटा समूहमा विभाजन गरिएको छ ।
शीर्ष ३ वटा टोलीले आउँदो डिसेम्बरमा पाकिस्तानमा हुने १९ वर्षमुनिकाे एसिया कप खेल्न पाउनेछन् । भारत, पाकिस्तान, बङ्गलादेश, अफगानिस्तान र श्रीलङ्का भने एसिया कपमा सोझै छनोट भएका छन् ।
समूह ‘ए’ मा नेपाल, बहराइन, साउदी अरेबिया र इरान रहेका छन् । त्यस्तै समूह ‘बी’ मा यूएई, ओमान, कतार र चीन रहेका छन् । समूह ‘सी’ मा सिङ्गापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स तथा समूह ‘डी’ मा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया रहेका छन् ।