दार्चुला – आर्थिक रूपमा विपन्न भए पनि राज्यले दिने सामाजिक सुरक्षा पाउन पुरुषको हकमा ७० वर्ष पुग्नुपर्छ । महिलाको हकमा भने श्रीमानको मृत्युपछि राज्यले सामाजिक सुरक्षा भत्ता दिने गर्छ ।हरेक नागरिकलाई गाँस, बास, कपासका हिसाबले सुरक्षित रहनुपर्छ । सोही अनुसार सराकारले ज्येष्ठ नागरिक, ज्येष्ठ दलित, अपाङ्ग तथा एकल महिलाहरूले सेवा लिँदै आएका छन् । विपन्न तथा सहारा विहीन एकल पुरुषलाई भने अझ राज्यले सामाजिक सुरक्षा भत्ताको लागि केही कार्यक्रम ल्याउन सकेको छैन ।
तर, दार्चुलाको जिल्लाको नौगाड गाउँपालिकाले भने एकल पुरुषलाई पनि अगामी आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्ता दिने जनाएको छ । गाउँपालिकाले नीति तथा कार्यक्रममा नै समावेश गरी एकल पुरुषलाई भत्ता दिइने गाउँपालिका अध्यक्ष प्रेम सिह धामीले जानकारी दिनु भएको छ ।
स्थानीय सरकार आएपछि हामीले अन्य थुपै काम गरेका छौ अब आउने आर्थिक वर्षबाट एकल पुरुषलाई पनि वार्षिक रूपमा भए पनि भत्ता दिने सोचका साथ अगाडी बढेका छौं गाउँपालिका अध्यक्ष धामीले महेन्द्र नगर पोष्टसंग भन्नुभयो ।
गाउँपालिकाले ६० देखि ७० वर्ष उमेरका ज्येष्ठ एकल पुरुषहरूको तथ्याङ्क संकलन गरी भत्ता दिने जनाएको छ । विभिन्न कारणले श्रीमतीको मृत्यु भएको र आर्थिक अवस्थालाई मध्यनजर गरी भत्ता वितरण गरेका एकल पुरुषलाई भत्ता वितरण गर्ने योजना रहेको छ ।
ज्येष्ठ नागरिकहरूको सारथिको रूपमा स्थानीय सरकार भएको अनुभूति दिलाउन यो कार्यक्रम ल्याउन लागिएको अध्यक्ष धामीले बताए । ज्येष्ठ एकल पुरुषलाई स्थानीय सरकारले औषधि उपचार तथा स्वास्थ्य परीक्षणका लागि स्थानीय सरकारले सम्मानसहित नगद प्रदान गरेको पनि गाउँपालिकाले जनाएको छ ।