काठमाडौं : सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गरी पदमा बसिरहँदा प्रमाण नष्ट हुनसक्ने जनाउँदै बसौलाला तीन महिनाका लागि निलम्बन गरेको हो।
बसौलालाई स्वास्थ्य बीमा ऐन २०७४ अनुसारका काम, कर्तव्य र जिम्मेवारी पूरा नगरेको आरोपमा निलम्बन गरेको बताइएको छ । उनले मन्त्रालयबाट दिइएको निर्देशनसमेत पालना नगरेको बताउँदै हिजोदेखि निलम्बन गरिएको मन्त्रालयका उपसचिव कृष्ण थापाको हस्ताक्षर रहेको पत्रमा लेखिएको छ
हिजो बुझाइएको चलानी नम्बर ७८८ को पत्रमा भनिएको छ, ‘नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८० असोज २४ गतेको निर्णय बमोजिम तपाईंलाई कार्यकारी निर्देशकको पदमा राखिरहँदा तपाईं उपर लगाइएको आरोपको प्रमाण नष्ट गर्नसक्ने र तपाईंको गैर जिम्मेवारीपूर्ण काम कारबाहीले स्वास्थ्य बीमा बोर्डलाई हानी नोक्सानीसमेत गर्न सक्ने देखिएको हुँदा स्वास्थ्य बीमा ऐन २०७४ को दफा २५ को उपदफा (४) बमोजिम बढीमा ३ (तीन) महिनाको लागि कार्यकारी निर्देशक पदबाट आजैका मितिबाट लागु हुनेगरी निलम्बन गरिएको व्यहोरा यस मन्त्रालय (मा.मन्त्रीस्तर) को मिति २०८० असोज २६ गतेको निर्णयानुसार अनुरोध छ।’