काठमाडौं – नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चितवन जिल्लाका पार्टीका सभापति राजेश्वर खनाललाई भरतपुर महानगरपालिका माओवादीलाई छोड्नु पर्ने बताएका छन् ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर भरतपुर महानगरपालिका माओवादीलाई छोड्नुपर्ने अवस्था आएको भन्दै उक्त निर्देशन दिएका हुन् ।
चितवन काँग्रेसले भरतपुर महानगरपालिकाको मेयर काँग्रेसले पाउनुपर्ने निर्णय गरेको थियो । सत्ता गठबन्धनमा भरतपुरको मेयर माओवादी केन्द्रका भागमा परेको हुनाले सभापति खनाललाई भरतपुर महानगरपालिका छोड्नको लागि आग्रह गरेका थिए । यद्यपि यसबारे औपचारिक निर्णय साँझ हुने देउवाले चितवन सभापति खनाललाई सुनाए ।
सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्का, बागमती प्रदेश काँग्रेस सभापति इन्द्रबहादुर बानियाँ र चितवन सभापति खनालसँग चितवन छोड्नुपर्ने अवस्था आएको जानकारी दिएका छन् ।