काठमाडौंः फिफा विश्वकप २०२६ को प्रारम्भिक छनोट अन्तर्गत दोस्रो लेगको खेलमा नेपालले आज लाओससँग खेल्दैछ। खेल लाओसको भिएनतिएनेस्थित न्यु लाओस नेशनल स्टेडियममा नेपाली समय अनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ।
बिहीबार काठमाडौंमा भएको पहिलो लेगको खेलमा नेपालले लाओससँग १–१ को बराबरी खेलेको थियो। दोस्रो चरणमा पुग्नका लागि नेपालले दोस्रो लेगमा लाओसलाई हराउनैपर्ने हुन्छ।
दोस्रो लेगको खेलमा विजयी हुने टिम विश्वकप एसिया छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ, जहाँ कूल ३६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। उनीहरुलाई ४–४ टोली रहने गरी ९ समूहमा विभाजन गरिनेछ। त्यसैले यो खेल नेपाली फुटबलको भविष्यका लागि निकै महत्वपूर्ण छ।
नेपाल र लाओसबीचको विजेता दोस्रो चरणमा युएई र बहराइन रहेको समूह ‘एच’मा पर्नेछ। यस्तै यमन र श्रीलंकाबीचको पहिलो चरणको विजेता पनि यही समूहमा रहनेछ।
दोस्रो चरणमा पुग्नका लागि अट्याकिङ फुटबल खेल्ने र जसरी पनि जित निकाल्ने नेपालको रणनीति छ। नेपाली टोलीका मुख्य प्रशिक्षक भिनचेन्जो अल्बर्टो एनेसले लाओस विरुद्ध आक्रामक फुटबल खेल्ने बताएका छन्।