काठमाडौं : भारती मानन्धरले दशैँ सकिएसँगै पुनः रिले अनशन सुरु गरेकी छन्।
श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी मानन्धरले पुनः रिले अनशन सुरु गरेकी हुन्।
श्रीमान चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि परिवारले विरोध गर्दै आएका छन्।
रिगल विरुद्ध २८ असार २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो। उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो।
घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो। तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल छुटेका थिए।