धनगढी : आफ्नै छोरीमाथि जबर्जस्ती करणीको प्रयास गर्ने धनगढीमा एक पूर्व प्रहरी अर्थात् रिटायर्ड सईलाई प्रहरीकै मिलेमतोमा लुकाइएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीमा धनगढीकै पन्त थरका रिटायर्ड सईले आफ्नै छोरीलाई करणी गर्ने प्रयास गरेको भन्दै उजुरी परेको महिना दिन हुन लाग्दा समेत पक्राउ नगरिएको हो।
काठमाडौंमा पढ्दै जागिर गर्ने ती युवती धनगढी (घर) आएकी थिइन्। घर आएकी छोरीलाई पन्तले करणी प्रयास गरेका थिए।
घटना असोज १३ गते रातिको भएपनि आफ्ना अन्दाजी ५० वर्षीय बुवाविरुद्ध अन्दाजी २२ वर्षीया छोरीले करणी प्रयासको आरोपमा असोज १९ गते उजुरी दिएकी थिइन्।
उजुरीपछि पन्त फरार थिए। तर, स्रोतका अनुसार दसैंमा मात्र आरोपितले घरमा आएर टीका लगाएको भएपनि प्रहरीले अहिलेसम्म उनलाई पक्राउ गरेको छैन्। पीडित छोरी अहिले काठमाडौंमा बस्दै आएकी छन्।
पीडितका अधिवक्ताले प्रहरीले नै रिटायर्ड सईलाई भगाएको आरोप लगाएका छन्। यस्तै उनले अहिले पनि प्रहरीकै संरक्षणमा आरोपित लुकेर बसेको दाबी गरेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले महेन्द्रनगरपोष्टसँग कुरा गर्दै बल्ल आज अफिस खुलेकोले फाँटमै गएर कुराकानी गर्ने बताए।
´मान्छे पक्राउ गर्नमा प्रहरीले ढिलाइ गर्दैन। तर, मान्छे पक्राउ नपर्ने प्रवृत्ति पनि हुन्छन् त,उनले भने, ´मान्छेले पनि भाग्न खोजिरहन खोज्छन् नि। म बुझेर कुरा गर्छु।
सम्बन्धित समाचार
धनगढीमा रिटायर्ड सईले नै गरे ‘केटिएम’बाट फर्केकी छोरीमाथि करणी प्रयास