काठमाडौं – राप्रपाले आसन्न स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बुधबार आयोजित ‘स्थानीय तह निर्वाचन, प्रतिबद्धतापत्र सार्वजनिक’ कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।
सार्वजनिक प्रतिबद्धतापत्रमा भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गरिने उल्लेख छ । राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र, स्थायित्व र समृद्धिका लागि देशमा सर्वधर्म, समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रलाई राप्रपाले आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ ।
यस्तै, राप्रपाले १२ कक्षासम्म नि:शुल्क, सार्वजनिक स्थलमा फ्री वाइफाइ, ज्येष्ठ नागरिकलाई निशुल्क धार्मिक यात्रा, स्थानीय करको दरमा ५० प्रतिशतसम्म कटौती लगायतका विषय घोषणापत्रमा राखेको छ । घोषणापत्रमा हरेक किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप, गाईभैंसीलाई सुत्केरी भत्तालगायतका विषय पनि राखिएको छ ।