डडेलधुरा : डडेलधुराको अजयमेरु गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई राहतस्वरुप दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद भट्टले विज्ञप्ति जारी गर्दै जाजरकोट र रुकुम पश्चिम जिल्ला विपद् व्यवस्थापन समितिको राहत कोषमा एक–एक लाख रकम उपलब्ध गराउने निर्णय भएको जानकारी दिएका हुन् ।
‘दुःखको यस घडीमा हाम्रो पालिकाबाट सद्भाव स्वरूप तत्काल राहतका लागि जाजरकोट र रुकुम पश्चिम जिल्ला विपद् व्यवस्थापन समितिको राहत कोषमा एक–एक लाख रकम उपलब्ध गराउने छौँ,’ विज्ञप्तिमा भनिएको छ ।
गाउँपालिकाले भूकम्पमा परी पुरिएकाहरूको खोज, उद्धार र घाइतेहरूको उपचार तथा राहत कार्यमा सक्रियताका साथ लाग्न पनि अपिल गरेको छ ।
पालिकाले भूकम्पमा परी नलगाड नगरपालिकाका उप प्रमुख सरिता सिंह सहित दिवङ्गत भएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ साथै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेको छ ।